काठमाडौं। नेपाक बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा पहुँच बढाउन स्थानीय सरकारसँग विशेष कुरा भइरहेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो बताएका हुन्।
‘हामी दुई वर्ष अवधिमा करिब ३ सय स्थानीय तहमा पुगिसकेका छौं। स्थानीय सरकारसँग हामीले बिमाबारे विशेषरूपमा कुरा गरेका छौ,’ अध्यक्ष सिलवालले भने, ‘यसबाट बिमाको पहुँच बढ्ने र बढिभन्दा बढी नागरिक बिमामा जोडिने अवसर मिल्छ।’
उनले हुम्लाका विकट गाउँमा पनि बिमा कार्यक्रम चलिरहेको जानकारी दिए।
‘प्राधिकरणले गत वर्ष जीवन बिमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बिमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो,’ सिलवालले भने, ‘अधिकांश बिमा कम्पनीले पुँजी वृद्धिका लागि प्राधिकरणमा योजना पेस गरेका छन्।’
उनले पुनर्बिमा कम्पनी, नेपाल पुनर्बिमा कम्पनी र हिमालयन रि–इन्स्योरेन्स कम्पनीले पनि अब पुँजी बढाउनुपर्ने भएको बताए । ‘जीवन बिमा कम्पनीको पुँजी २ अर्ब हुँदा रि–इन्स्योरेन्स कम्पनीको पुँजी १० अर्ब थियो, लाइफ इन्स्योरेन्स कम्पनीको पुँजी दुई गुणा बढेर जाँदा पुनर्बिमा कम्पनीको पनि पुँजी बढ्नैपर्छ’ अध्यक्ष सिलवालले भने, ‘पुनर्बिमा कम्पनीले पनि रिस्क वेसको आधारमा पुँजी बढाउनुपर्ने भएकोले पुँजी वृद्धिको निर्णयमा प्राधिकरण धेरै छिटो अगाडि पुग्छ।’
जोखिमांक आधारमा पुनर्बिमा कम्पनीले १५ अर्ब रुपैयाँ चुक्तापुँजी बढाउनुपर्ने अध्यक्ष सिलवालको भनाइ छ।