काठमाडौं। एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ। श्रीलंकाको पालेकेले मैदानमा भइरहेको यो खेल विजेता टोली सुपर फोरमा पुग्ने छ। क्रिकेटको पावर हाउस मानिने भारतीय टोलीसँग प्रतिस्पर्धा गरिरहेको नेपाली टोलीलाई धेरैले हौसला प्रदान गरिरहेका छन्।
कतिपय व्यक्ति तथा संस्थाले खेलमा विकेट लिने, अर्धसतक र सतक पुरा गर्ने, छक्का र चौका प्रहार गर्नेलाई नगद राशी दिने घोषणा पनि गरेका छन्।
जनकन्दिनी गाउँपालिका
जनकन्दिनी गाउँपालिकाका अध्यक्ष दीपिनदेव यादवले व्यक्तिगत नगद राशीको घोषणा गरेका छन्। उनले विज्ञप्ति जारी गरी नेपालको तर्फबाट कुनै खेलाडीले अर्धसतक लगाए ५० हजार, सतक लगाए १ लाख र कुनै बलरले ह्याट्रिक विकेट लिए ५० हजार दिने घोषणा गरेका छन्।
ई–सेवा
नेपालको अग्रणी भुक्तानी सेव प्रदायक ई–सेवाले हाफ सेन्चुरी प्रहार गर्नेलाई ५० हजार र पहिलो विकेट लिनेलाई २५ हजार रुपैयाँ दिने घोषणा गरेको छ। त्यस्तै विराट कोहलीको विकेट लिनेलाई २५ हजार रुपैयाँ दिइने ई–सेवाले जनाएको छ।
चन्द्र पन्त
फिल्म निर्देशक चन्द्र पन्तले पनि भारतविरुद्धको खेलमा नगद पुरस्कार दिने घोषणा गरेका छन्। पन्त प्रमुख रहेको कम्पनी इन्सपायर नेपाल फाउन्डेसनले नेपालले खेल जितेमा टिमलाई ५ लाख, प्रत्येक विकेटमा ५० हजार र प्रत्येक छक्कामा ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ।
अर्ना बियर
आजको खेलमा अर्ना बियरले नेपाली टोलीले प्रहार गर्ने प्रत्येक छक्का, चौका र विकेटका लागि टोलीलाई नगद पुरस्कार दिने भएको छ।अर्नाले सामाजिक सञ्जालमार्फत प्रत्येक छक्का र विकेटको १/१ लाख र चौकाको २५ हजार रुपैयाँ दिने घोषणा गरेको हो।
शुक्लाफाँटा नगरपालिका
शुक्लाफाँटा नगरपालिकाले भारतविरुद्धको खेलमा शतक पुर्याउने खेलाडी र ४ विकेट लिने नेपाली खेलाडीलाई सम्मानस्वरूप जनही १/१ लाख रुपैयाँ दिने निर्णय गरेको छ।