काठमाडौं। एनआइसी एसिया र एभरेस्ट बैंकले यो साता लाभांश घोषणा गर्ने तयारी अघि बढाएका छन्। गत आर्थिक वर्षको वित्तीय विवरण राष्ट्र बैंकमा पेस गरी (प्रिलिमिनरी अपु्रभल) प्रारम्भिक स्वीकृतिको पर्खाइमा दुवै बैंक छन्।
गत साता माछापुच्छ्रे बैंकले राष्ट्र बैंकमा वित्तीय विवरण पेस गरेका थिए। जसमा राष्ट्र बैंकले माछापुच्छ्रे बैंकलाई प्रारम्भिक स्वीकृति दिएर बैंकद्वारा १४ प्रतिशत लाभांश घोषणा भइसकेको छ। एनआइसी र एभरेस्ट बैंकले आगामी शुक्रबारसम्म प्रारम्भिक स्वीकृति पाउने राष्ट्र बैंक वाणिज्य बैंक सुपरीवेक्षण विभागका एक अधिकारीले बताए।
‘यी बैंकको वित्तीय विवरणमा अपुग आवश्यक कागजात मागेर सम्बन्धित डेस्कले हेर्ने प्रक्रिया अन्तिम चरणमा छ,’ राष्ट्र बैंक स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘सम्भवतः यो शुक्रबारअघि नै प्रिलिमिनरी अपु्रभल पाउन सक्छन्।’
राष्ट्र बैंकले ती बैंकले पेस गरेका वित्तीय विवरणमा विस्तृत मूल्यांकन गर्दै गत वर्ष ती बैंकले छुट्ट्याउनुपर्ने कर्जा नोक्सानीमा, साधारण जगेडा कोषमा, कर्मचारी तालिम, सामाजिक उत्तरदायित्व कोषमा छुट्ट्याउनुपर्ने रकमलगायत थप गर्नुपर्ने ठाँउमा थप्न लगाइरहेको छ। यी सबै प्रक्रिया समाप्त भएपछि एनआइसी र एभरेस्टको वित्तीय विवरणमा प्रारम्भिक स्वीकृति राष्ट्र बैंकले दिन्छ।
गत आवको नाफाबाट एनआइसी एसियाले ३१.९९ प्रतिशत र एभरेस्टले ४०.५० प्रतिशत लाभांश वितरण गर्ने क्षमतासहितको वित्तीय विवरण राष्ट्र बैंकमा स्वीकृतिका लागि पेस गरेका हुन्। यी बैंकको प्रोभिजन थप नभएको अवस्थाको प्रस्तावित लाभांश वितरण गर्न पाउने गरी राष्ट्र बैंकले प्रारम्भिक स्वीकृति दिन्छ।
ती बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार एभरेस्ट बैंकले गत आवमा ४ अर्ब ३३ करोड ३२ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो। बैंकको कायम चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख रुपैयाँका आधारमा सेयरधनीलाई ४०.५० प्रतिशत लाभांश वितरणको क्षमता राख्छ।
त्यस्तै एनआइसी एसियाले गत आवमा ३ अर्ब ६९ करोड ८८ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो। हाल कायम चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख हुँदा बैंकले गत आवको नाफाबाट ३१.९९ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ।
लाभांश घोषणा प्रक्रिया
कुनै पनि कम्पनी तथा संघसंस्थाले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र उक्त आवको वार्षिक साधारणसभा सम्पन्न गरिसक्नुपर्छ। बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारणसभा सम्पन्न गर्न राष्ट्र बैंकमा सम्बन्धित आवको वित्तीय विवरण पेस गरी पारित गर्नुपर्ने व्यवस्था छ।
बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंक सम्बन्धित सुपरीवेक्षणमा अन्तिम लेखा परीक्षण गराएपछि वित्तीय विवरण पेस गर्नुपर्ने हुन्छ। जसमा सम्बन्धित सुपरीवेक्षणले निरीक्षण गरी प्रारम्भिक स्वीकृति दिन्छ। उक्त स्वीकृति पाएमात्र बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गर्न पाउँछन्।
घोषित लाभांश राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि मात्र साधारणसभाको मिति तय गरी लगानीकर्तालाई वितरण हुन्छ। राष्ट्र बैंकबाट पारित भएको वित्तीय विवरणको क्षमताअनुसार नै लाभांश घोषणा गर्ने/नगर्ने भन्ने सम्बन्धित बैंकमा नै भर पर्छ। क्षमताअनुसार लाभांश वितरण नगरेर रिजर्भमा समेत बैंकले वितरणयोग्य नाफाको पैसा राख्छन्।