काठमाडौं। राज्यका निकायबीच गतिलो समन्वय नहुुँदा दुराअवस्थामा पुगेका काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्देशन दिएका छन्।
सडकसम्बनन्धी सबै निकायका प्रमुखलई मन्त्रालयमा बोलाएर मन्त्री ज्वालाले टाइमलाइन नै तोकेर काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिएको संघिय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख अर्जुनप्रसाद अर्यालले बताए।
‘सडक विभागले सडक कालोपत्रे गर्छ, केही दिनमै त्यही सडक नेपाल विद्युत प्राधिकरणले खन्छ। फेरि कालोपत्रे गरिन्छ, लगत्तै नेपाल टेलिकमले खन्छ, फेरि कालोपत्रे गरिन्छ, लगत्तै काठमाडौं उपत्यका खानेपानी लिमिटेड, ढल महाशाखालगायतले खन्छ, यसरी सडकको बेहाल भयो’, मन्त्री ज्वालाले भने, ‘सडकको यो हरिबेजोग हेरेर बस्न सकिँदैन, टाइमलाइन तोकेर सडक सुधारमा लाग्नुहोस्।’
मन्त्री ज्वालाले बोलाएको सडकसँग सम्बन्धित उच्चस्तरिय बैठकमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिमिल्सेना, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका रमेश केसी, ढल महाशाखाका डोलप्रसाद चापागाईं, नेपाल टेलिकमका प्रतिनिधिको सहभागिता रहेको थियो।
त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालको पनि सहभागी थिए।
मन्त्री ज्वालाको निर्देशनपछि सम्बन्धित निकायका प्रमुखहरूले तार र पाइप अन्डर ग्राउन्डेड गरिसकेका ठाउँमा तत्काल सडक सुधार गर्ने प्रतिबद्धता जनाइएका छन्। बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले काम पूरा भएका ठाउँमा तत्काल सडक सुधार गर्ने प्रतिबद्धता जनाका हुन्।
काठमाडौं उपत्यकाभित्र नेपाल विद्युत प्राधिकरणले ५० किलोमिटर सडकमा तार अन्डरग्राउण्डेट गरिरहेको छ। ३२ वटा सडकको ५० किलोमिटरमा काम थालेपनि केही स्थानमा मात्र पूरा भएको छ भने सम्पन्न भएका ठाउँमा पनि सडक सुधार गरिएको छैन। अझै ३३ सडकको ७७ किलोमिटर सडक खन्न अनुमति मागेको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १९ सडकको १७ किलोमिटरमा हाल काम गरिरहेको छ। खानेपानी लिमिटेडले पनि पाइप बिछ्याइएका सडक सुधार गरेको छैन।
नेपाल टेलिकमले पनि केही सडकमा टेलिफोनको तार विछ्याउने काम गरिरहेको छ।
सडकसँग सम्बन्धित ९ निकाय गम्भीर नहुँदा नागरिकले सास्ती पाएको भन्दै मन्त्री ज्वालाले बैठकमा आक्रोस पोखेका थिए।
‘तपाईंहरू काममा गम्भीर नहुने नागरिकले दैनिक सास्ती पाइराख्ने अवस्थामा मन्त्री टुलुटुलु हेरेर बस्दैन’ मन्त्री ज्वालाले भने ‘अब म आफैं सडकमा जान्छु र कामको निरक्षण गर्छु।’