जुम्ला। जुम्लाका आठवटै स्थानीय तहबाट अब उद्योग दर्ता हुने भएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले आज ३ हजार १ सय ८३ वटा उद्योग यहाँका स्थानीय तहलाई हस्तान्तरण गरेको छ।
उद्योगतर्फ २ सय ९१ र वाणिज्यतर्फका २ हजार ८ सय ९२ वटा उद्योग स्थानीय तहलाई हस्तान्तरण गरिएको कार्यालय प्रमुख श्रीकृष्ण देवकोटाले जानकारी दिए।
कार्यालयमा हालसम्म ३ हजार ६ सय ९३ उद्योग र ३ हजार १ सय ४ वटा वाणिज्य उद्योग दर्ता भएका छन्। कार्यालय प्रमुख देवकोटाले भने, ‘कार्यालयबाट हुने उद्योगहरूको दर्ता र नवीकरण गर्ने अधिकारको जिम्मेवारी स्थानीय तहले दिएका छौँ।’
कार्यालयमा हालसम्म दर्ता भएका ३ हजार ६ सय ९३ उद्योगमध्ये २ सय ९१ उद्योग स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। ३ हजार ४ सय २ वटा उद्योग कार्यालय मातहतमा रहने कार्यालय प्रमुख देवकोटाको भनाइ छ।
वाणिज्य उद्योततर्फका ३ हजार १ सय ४ वटा उद्योगमध्ये २ हजार ८ सय ९२ उद्योग स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। २ सय १२ वटा उद्योग कार्यालय मातहत रहने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख देवकोटाका अनुसार उद्योगतर्फका ५ लाखभन्दा माथि पुँजी भएका र वाणिज्य उद्योततर्फ १० लाखभन्दा माथि पुँजी भएका उद्योग भने कार्यालयको मातहतमा दर्ता हुने जानकारी दिए।
स्थानीय तहलाई हस्तान्तरण गरेको उद्योगतर्फका जम्मा २ सय ९१ र वाणिज्यतर्फका २ हजार ८ सय ९२ वटा उद्योग जिल्लाका स्थानीय तहलाई हस्तान्तरण गरिएको कार्यालय प्रमुख देवकोटाले जानकारी दिए।
कार्यालय मातहत रहने उद्योग दर्ता र नवीकरण कार्यालयबाटै हुने भएको छ। ५ लाखसम्म पुँजी भएका उद्योग र १० लाखसम्म पुँजी भएका वाणिज्यतर्फका उद्योगका हकमा दर्ता र नवीकरण अब स्थानीय तहबाटै हुने कार्यालयले जनाएको छ।
उद्योग दर्ता गर्नेका लागि सदरमुकाम खलङ्गा आउने सेवा प्रवाह स्थानीय तहबाट हुने भएकाले यहाँका नागरिकलाई छिटो र सहज सेवा दिन स्थानीय तहको काँधमा आएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले बताए।
स्थानीय तहमै उद्योग दर्ताको अख्तियारी प्राप्त भएपछि सेवाग्राहीलाई सहज वातावरणमा सेवा प्रदान गरिने भएको छ।
उद्योग दर्ता र नवीकरण स्थानीय तहबाट हुँदा राजस्वमा समेत वृद्धि हुने चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले बताए।
उद्योग शाखामार्फत सेवा दिइने र नागरिकलाई राहत हुने गरी गाउँकेन्द्रित सेवा विस्तार गरिने तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सङ्घीयताको मर्मअनुसार उद्योगहरुको काम स्थानीय तहबाट सेवा प्रवाह हुनु राम्रो काम भएको बताए