काठमाडौं। डेढ महिनामै बैंकिङ प्रणालीबाट १ खर्ब १४ अर्ब ८४ करोड रुपैयाँ निक्षेप बाहिरिएको छ।
चालू आर्थिक वर्ष सुरु भएयता भदौ १६ सम्म बैंकिङ प्रणालीबाट उक्त परिमाणमा निक्षेप बाहिरिएको हो।
गत आर्थिक वर्ष अन्त्यमा बैंकिङ प्रणालीमा कूल ५७ खर्ब ४० अर्ब २९ करोड रुपैयाँ निक्षेप मौज्दात थियो। जसमा वाणिज्य बैंकमा ५० खर्ब ६६ अर्ब ४१ करोड, विकास बैंकमा ५ खर्ब ६३ अर्ब २८ करोड र वित्त कम्पनीमा १ खर्ब १० अर्ब ६० करोड निक्षेप मौज्दात थियो।
भदौ १६ सम्म आइपुग्दा वाणिज्य बैंकहरूको निक्षेप १ खर्ब १३ अर्ब ५७ करोड र विकास बैंकहरूको १ अर्ब ७२ करोड रुपैयाँले घटेको हो। उक्त अवधिमा वित्त कम्पनीको निक्षेप भने ४५ करोड रुपैयाँले थप भएको छ।
भदौ १६ सम्म वाणिज्य बैंकमा ४९ खर्ब ५२ अर्ब ८४ करोड, विकास बैंकमा ५ खर्ब ६१ अर्ब ५६ करोड र वित्त कम्पनीमा १ खर्ब ११ अर्ब ५ करोड रुपैयाँ गरी कूल ५६ खर्ब २५ अर्ब ४५ करोड रुपैयाँ निक्षेप मौज्दात छ।
यसैगरी गत आर्थिक वर्ष बैंक तथा वित्त कम्पनीद्वारा प्रवाहित कर्जामा डेढ महिनाबीचमा २४ अर्ब ६२ करोड रुपैयाँ थप भएको छ।
उक्त अवधिमा वाणिज्य बैंकले १९ अर्ब ८१ करोड र विकास बैंकले ६९ करोड रुपैयाँले थप कर्जा प्रवाह गर्दा वित्त कम्पनीको भने ६७ करोड रुपैयाँले कर्जा घटेको राष्ट्र बैंकबाट प्राप्त तथ्यांकमा छ।
गत आवको अन्त्यसम्म वाणिज्य बैंकले ४२ खर्ब ९४ अर्ब ३९ करोड, विकास बैंक ४ खर्ब ६८ अर्ब ४४ करोड र वित्त कम्पनीले ९२ अर्ब ८ करोड रुपैयाँ गरी कूल ४८ खर्ब ५४ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
जुन चालू आवको भदौ १६ सम्म आइपुग्दा वाणिज्य बैंकले ४३ खर्ब १८ अर्ब ५४ करोड, विकास बैंक ४ खर्ब ६९ अर्ब ५८ करोड र वित्त कम्पनीले ९१ अर्ब ४१ करोड गरी कूल ४८ खर्ब ७९ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।