एजेन्सी। वित्तीय संकटका कारण बन्द भारतका दुई ठूला वायुसेवा कम्पनीले ‘एयरलाइन्स कोड’ गुमाएका छन्।गो फर्स्ट र जेट एयरवेजले ‘इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन’ (आएटा) द्वारा तोकिएको एयरलाइन कोड गुमाएका हुन्।
गो एयरको ‘जि८’ र जेटको ‘९डब्लु’ कोड थियो। जेट एयरवेज सञ्चालनको तयारीमा छ भने गो फर्स्ट हालसालै बन्द भएको हो।
आएटाका सञ्चार प्रमुखका अनुसार आधारभूत योग्यताका लागि एयरलाइन्स सञ्चालन हुन आवश्यक छ। गो फर्स्टले यस वर्ष मे सुरुमा व्यावसायिक उडान सञ्चालन गर्न बन्द गरेको थियो।
यस्तै जेट एयरवेज चार वर्षदेखि बन्द छ। जेट पुनः सञ्चालन तयारीमा छ। एयरलाइन्स कोड फिर्ता लिनुले टिकट र रिजर्भेसन सेवासाथै सामान ह्यान्डलिङ अपरेसनमा बाधा पुग्ने छ। किनभने, उड्डयन कम्पनीहरूले समय तालिका, आरक्षण, टिकट, कार्गो कागजात, तालिका, दूरसञ्चार इत्यादिका लागि निर्दिष्ट कोड प्रयोग गर्छन्।
जुलाई सुरुमा राष्ट्रिय कम्पनी कानुन न्यायाधीकरण (एनसिएलटी) गएको मे ३ पछि आफ्ना उडानमा बुक गरिएका यात्रुलाई पैसा फिर्ता गर्ने गो फर्स्टको योजनामा इन्सल्भेन्सी एन्ड बैंकरप्सी बोर्ड अफ इन्डिया र कमिटी अफ क्रेडिटर्स (सिओसी) को सहमति मागेको थियो।
रिजुले सन प्रोफेसनलको नेतृत्वमा गो फस्र्ट व्यवस्थापनद्वारा पेस गरिएको फिर्ता योजना, ट्राभल एजेन्ट र यात्रुलाई जारी गरिएको क्रेडिट नोटमार्फत भुक्तानी र सञ्चालनबाट कमाएको राजस्वमार्फत भुक्तानी समावेश थियो।
यसैबीच राष्ट्रिय कम्पनी पुनरावेदन न्यायाधीकरण (एनसिएलएटी) ले जेट एयरवेजका लागि सफल बोलपत्रदाता ‘जलान क्यालरक कन्सोर्टियम’ लाई सेप्टेम्बर ३० सम्मको समय दिएको छ।
न्यायाधीकरणले ३ अर्ब ५० करोड भारु भुक्तानीमा बैंक ग्यारेन्टीबाट १ अर्ब ५० करोड भारु समायोजन गर्न कन्सोर्टियमको निवेदन पनि स्वीकार गरेको छ।
सेप्टेम्बर ३० पछि एनसिएलएटीले केसको बाँकी निवेदन सम्बोधन गर्ने भएको छ। जसमा २ अर्ब २४ करोड भारु बक्यौता फिर्ता लिन कामदारले गरेको एउटा निवेदन पनि समावेश छ।
२०२१ जुन २२ मा एनसिएलटीले जलान क्यालरक कन्सोर्टियमले पेस गरेको जेट एयरवेजको रिजोलुसन प्लान स्वीकृत गरेको थियो। जसमा युएईमा रहेका गैरआवासीय भारतीय मुरारिलाल जालान, जसले जेट एयरवेजमा आफ्नो व्यक्तिगत क्षमतामा सेयर राख्नेछन्।
उनले आफ्नो लगानी होल्डिङ कम्पनी क्यालरक क्यापिटल पार्टनर लिमिटेडमार्फत सेयर राख्नेछन्। जेट एयरवेज आर्थिक संकटमा परेपछि २०१९ अप्रिलमा ग्राउन्डेड गरिएको थियो। तर, ऋणदाता र कन्सोर्टियमबीचको निरन्तर मतभेदबीच स्वामित्व हस्तान्तरणको विषय अलपत्र परेको छ।
चार वर्षदेखि ग्राउन्डेड जेट एयरवेज पुनः सञ्चालनमा आउने तयारी छ। जालान क्यालरक (जेकेसी) ले जेट सञ्चालन गर्न १३ अर्ब ७५ करोड भारु लगानी गर्ने भएको छ।
जसअनुसार ९ अर्ब पुँजी लगानी र बाँकी ४ अर्ब ७५ करोड भारु ऋण तिर्न खर्चिने छ। त्यसमध्ये ३ अर्ब ८० करोड बैंक ऋण तिर्ने छ।
जेकेसीले जेट एयरवेजको ८९.७९ प्रतिशत स्वामित्व लिएको छ भने ९.५ प्रतिशत ऋणदाताको स्वामित्व रहने गरी लगानी संरचना तयार पारिएको छ।
यता जेकेसीले जेट एयरवेज पुनः सञ्चालन गर्न भारतको नागरिक उड्डयन महानिर्देशकको कार्यालयबाट वायुसेवा सञ्चालन अनुमति प्राप्त गरिसकेको छ।
यस्तै भारतको अदालतले गो फस्र्ट एयरलाइन्सको स्वेच्छिक खारेजी निवेदन स्वीकार गरेको छ। राष्ट्रिय कम्पनी कानुन न्यायाधीकरणले गो फस्र्ट खारेजी निवेदन स्वीकार गर्दै अभिलाष लाललाई अन्तरिम रिजोलुसनकर्ता (लिक्विडेटर) नियुक्त गरेको छ।
बजेट एयरलाइन्स गो फर्स्टले मे २ मा खारेजीका लागि न्यायाधीकरणमा निवेदन दिएको थियो। केही भारतीय बैंकसहित वित्तीय ऋणदातालाई ६५ अर्ब २१ करोड भारु ऋण तिर्न बाँकी छ।