काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहकी सुत्केरी श्रीमती सबिना काफ्लेलाई प्रहरीले अनावश्यक केरकार गरेको मेयरका स्वकीय सचिव भुपदेव शाहले जनाएका छन्।
शाहले विज्ञप्ति जारी गर्दै भदौ १६ गते सुत्केरी अवस्थामा रहेकी काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि महानगरको सरकारी गाडी प्रयोग गरेर काफ्ले अस्पताल गएर फर्किंदा ट्राफिक प्रहरीले दुर्व्यवहार गरेको उनको आरोप छ।
सवारीसाधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नुपरेको बेहोरा जानकारी गराएर नगरप्रमुख सहितको परिचय खुलाएपछि प्रहरीको व्यवहार झन् बढी आक्रामक भएको उनको आरोप छ।
प्रहरीले सामान्य मानवीय संवेदनशीलता समेत ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरेको विज्ञप्तिमा उल्लेख छ।
‘सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ‘ढोका खोल’, के होरु कहाँ होरु यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो,’ विज्ञप्तिमा छ।
प्रसव पीडा र शारीरिक समस्या एवं नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्यन्त निन्दनीय तथा खेदजनक रहेको शाहले जनाएका छन्।
आपतकालीन अवस्थाबारे जवाफ दिँदा पनि ‘मैले चाहेँ भने यतै राख्न सक्छु’ भनेर धम्की दिने, कुनै ठूलो अपराध गरेका व्यक्तिलाई केरकार गरेको विज्ञप्तिमा उल्लेख छ।
यसबारे गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमलाई भ्रामक सूचना दिई समाचार सम्प्रेषण गर्न लगाएको उनको आरोप छ।