काठमाडौं। श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले भदौ ७ मा ट्याक्सीलगायत प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्यो।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पढाएपछि मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै सार्वजनिक सवारीसाधनको भाडा बढाएको हो।
मन्त्रालयले ट्याक्सीको सुरुवाती कल ९फ्ल्याग डाउन० ५२ रुपैयाँ कायम गर्यो भने प्रति २ सय मिटर भाडा दर १० बाट बढाएर १० रुपैयाँ ३४ पैसा बनाएको छ। त्यस्तै प्रतीक्षा शुल्क पनि १।२० मिनेटबाट बढाएर १ रुपैयाँ २४ पैसा बनाइएको छ।
त्यसैगरी रात्रिकालीन ट्याक्सी सेवा भाडा दर फ्ल्याग डाउन ५२ रुपैयाँ यथावत राखी बेलुका ९ देखि बिहान ४ बजेसम्म प्रति २ सय मिटरको १५ रुपैयाँ ५२ पैसा बनाइएको छ।
मन्त्राललयले भाडा समायोजन गरेपछि अन्य सवारीसाधनको बढेको भाडा लागू भए पनि ट्याक्सीका हकमा मिटर नै अपडेट गर्नुपर्ने भएकाले नयाँ भाडा दर लागू भएको छैन।
मन्त्रालयले ट्याक्सी भाडा समायोजन गरी पत्र पठाएपछि गुणस्तर तथा नापतौल कार्यालयले मिटर अपडेट गर्छ। मन्त्रालयबाट भाडा समायोजनका विषयमा हालसम्म कुनै पत्र नआएको नापतौल कार्यालय काठमाडौंका सूचना अधिकारी निराजन पुडासैनीले बताए।
‘हाम्रो कार्यालयमा मन्त्रालयबाट पत्र आएको छैन। त्यसकारण मिटर अपडेटका लागि कुनै तयारी गरेका छैनौं। विभागमा आएको भए हामीलाई थाहा छैन। विभागले मिटर अपडेट गर्न निर्देशन दिएपछि हामीले गर्ने हो,’ पुडासैनीले क्यापिटल नेपालसँग भने।
विभागमा पनि मन्त्रालयबाट मिटर अपडेट गर्न चिठी नआएको गुणस्तर तथा नापतौल विभागका प्रवक्ता ज्योति जोशी भट्टले बताइन्। ‘अहिलेसम्म त कुनै पत्र आएको छैन। आएपछि त्यहीअनुसार तयारीमा लाग्छौं,’ उनले भनिन्।
विभागमा मिटर अपडेटका लागि पत्र पठाउन सम्बन्धित महाशाखामा निर्देशन दिइसकेको यातायात मन्त्रालय बागमतीका सूचना अधिकारी खगेन्द्र पौडेलले बताए। ‘हामीले केही दिनअघि सम्बन्धित महाशाखामा भनिसकेका छौं। पत्र जाँदै होला,’ उनले भने।
भाडा बढ्दा पनि व्यवसायी असन्तुष्ट
सरकारले ट्याक्सी भाडा बढाए पनि ट्याक्सी व्यवसायी भने असन्तुष्ट बनेका छन्। सरकारले बिनाअध्ययन भाडा समायोजन गरेको उनीहरूको आरोप छ।
यो समस्याबारे विभागीय मन्त्रीलाई जानकारी गराइसकेको र समायोजन पुनरावलोकन नभए भाडा दर स्वीकार्य नहुने नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव दिलीपकुमार श्रेष्ठले बताए।
‘भाडा समायोजन गर्दा इन्धनलाई मात्र हेरियो र इन्धनकै हिसाब गर्दा पनि अन्यायपूर्ण ढंगले गरियो भनेर हामीले मन्त्रीलाई जानकारी दिइसकेका छौं,’ उनले भने, ‘केही दिनमा मन्त्रालयमै गएर मन्त्रीलाई भेट्ने योजना छ।’
महँगीको ३५ प्रतिशत कारक इन्धनलाई मात्र मूल्यांकन गरी ६५ प्रतिशतलाई बेवास्ता गर्नु स्वीकार्य नहुने बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका अध्यक्ष दीपक नेपाल बताउँछन्। ‘सबै इलिमेन्ट अध्ययन गरेर समायोजन गर्नुपर्छ। त्यसपछि बल्ल हामी मिटर समायोजन गर्न जान्छौं,’ उनले भने।
मिटर अपडेट गर्नै झन्झट
सरकारले भाडा समायोजन गरे पनि सबै मिटर अपडेट गर्ने प्रक्रिया निकै झन्झटिलो छ। ट्याक्सीमा पुरानो प्रविधिका मिटर भएकाले नापतौल कार्यालयले म्यानुअल्लीमात्र अपडेट गर्न सक्छ। यसरी मिटर म्यानुअल्ली अपडेट गर्दा दैनिक अधिकतम ७० ट्याक्सीमा मात्र अपडेट गर्न मिल्छ। यो हिसाबले उपत्यकामा सञ्चालित १२ हजार ट्याक्सीको मिटर अपडेट गर्न करिब ६ महिना लाग्छ।