काठमाडौं। घुमफिरका अनुभूति कवितामा ढाल्दै आएका पर्यटनविद हिक्मतसिंह ऐरको मुलुक चिनाउने पुस्तक ‘कञ्चनपुरदेखि कञ्चनजंघा, कवितामय फन्को देशको’ लोकार्पण भएको छ।
पुस्तकको लोकार्पण शनिबार परराष्ट्रमन्त्री एनपी साउदको उपस्थितिमा भएको हो। पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढी समय काम गर्दा सुदूरपश्चिम तराई कञ्चनपुरदेखि पूर्व हिमालको कञ्चनजंघा आधारशिविरसम्म पुग्दाका अनुभव र अनुभूतिलाई कवितामय वर्णन कवि ऐरले यस कविता संग्रहमा गरेका छन्।
यस संग्रहमा कविका मनका रहर, भोगाइ तथा मुलुक र समाजप्रति समर्पित केही भाव पनि विभिन्न कवितामार्फत प्रस्तुत गरिएको छ। पुस्तक लोकार्पण कार्यक्रममा साहित्यकार, प्रशासक एवं पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला, पत्रकार अमृत भादगाउँले, साहित्यकार चेतनाथ कणेल ‘हरित’ र संस्कृतिविद् प्राज्ञ यज्ञराज उपाध्यायले कृति समीक्षा गरे।
सरल अनि कलात्मक भाषामा लेखिएका कवितासँगै सम्बन्धित ठाउँका रंगीन तस्बिर पनि यस कविता संग्रहमा छन्।
बुक्स हिमालयले प्रकाशन गरेको यस पुस्तकमा सातै प्रदेशका हिमाल, पहाड, तराई, चुरेभावर जंगल, नदीनाला, संस्कृति र सम्पदाले भरिपूर्ण अलौकिक देवभूमिका मठमन्दिर, गुम्बा, चैत्य, मौलिक खानपिन, रहनसहन एवं अन्य विशेषताले भरिपूर्ण गन्तव्यमा बटुलिएका अनुभव र अनुभूतिलाई कवितामा वर्णन गरिएको छ। यो पुस्तक नेपाल जान्न चाहने, देश चिन्न खोज्ने समेतलाई उपयोगी हुने विश्वास गरिएको
छ।
कवि ऐर नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हुन्। बोर्डमा उनी २३ वर्षदेखि कार्यरत छन्।