काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सेजको ‘लिज’ शुल्क प्रतिवर्गमिटर ८ देखि १० रुपैयाँसम्म बनाउन मन्त्री रिजालले पहल गर्ने बताएका छन्।
मन्त्री रिजालले शनिबार भैरहवास्थित विशेष आर्थिक क्षेत्र ९सेज० को पनि अनुगमन गर्दै उद्योगीले उद्योग स्थापना गर्न अहिले लिजका लागि सरकारले तोकेको ६० रुपैयाँ प्रतिवर्गमिटर जग्ग मूल्य घटाएर वर्गमिटरको ८ देखि १० रुपैयाँसम्म बनाउन पहल गर्ने बताएका हुन्।
अनुगमन क्रममा विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा चण्डिका भट्टले मन्त्री रिजाललाई सेजको स्थलगत जानकारी गराएका थिए भने सेजको विस्तृत प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए।
मन्त्री रिजालले अहिले सेजमा उद्योग स्थापना गर्दा उद्योगीलाई परिरहेको समस्या तत्काल हल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री रिजालले उद्योगी–व्यवसायीले झेल्नुपरेको समस्या समाधानका लागि ऐनकानुन परिमार्जन गर्नुपर्ने भए पनि यसमा सरकार गम्भीरतापूर्वक लाग्ने स्पष्ट पारेका छन्।
शनिबारै भैरहवास्थित एकीकृत भन्सार जाँच केन्द्र (आइसिपी) अनुगमन पनि गरेका छन्।
अनुगमनमा मन्त्री रिजालसँग उद्योग सचिव मुकुन्द निरौला पनि थिए। आइसिपी कार्यकारी निर्देशक आशिष गजुरेलले मन्त्री रिजाललाई आइसिपीको स्थलगत जानकारी गराएका थिए।
मन्त्री रिजालले आवश्यक सुधार तथा व्यवस्थापनमा जोड दिन आग्रह गर्दै नीतिगत समस्या समाधान गर्न केही समय लाग्ने भए पनि अन्य समस्या भए त्यसको समाधानका लागि तत्काल निर्णय गर्न आफू तयार रहेको बताए।