काठमाडौं। भदौ अन्तिम साता राजधानीको भृकुटीमण्डपमा ‘नाडा अटो शो’ हुन लागेको छ।
६ दिन चल्ने प्रर्दशनीमा १ सय २० स्टल रहने छन्। विभिन्न ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका अन्य अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागिता रहने उक्त शोमा ७५ हजार दर्शकले अवलोकन गर्ने नाडाको अपेक्षा छ।
यो वर्षको नाडा अटो शोमा दर्शकले केही प्रिमियम ब्राण्डका गाडी भने देख्न नपाउने भएका छन्।
यो वर्ष प्रिमियम ब्रान्ड टेस्ला, औडी, बिएमडब्लु, टोयोटा, जिप, स्कोडा देख्न नपाइने भएको हो।
टोयोटाका लागि नेपालको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट आफ्नो नयाँ मोडल नभएका कारण यस वर्ष नाडामा सहभागिता नजनाउने भएको हो भने एमएडब्लु ग्रुपले जिप, स्कोडा नराखी आफ्नो नयाँ ब्रान्ड सेरेस राख्न लागेको हो।
त्यस्तै, लक्ष्मी ग्रुपले बिएमडब्लुको नयाँ मोडल आउने निश्चत नभएका कारण स्टल नराखे पनि हुण्डाई भने राख्ने भएको छ।
त्यस्तै, गत वर्ष इभी शोमा सहभागिता जनाएको टेस्ला र केही समयअघि मात्र नेपाली बजारमा आएको औडीले पनि स्टल बुक नगरेको नाडाले जनाएको छ।