काठमाडौं। नेपालमा प्राचीन समयदेखि परिवारले घरेलु व्यवसायका रूपमा सञ्चालन गरेको पेसा थप व्यावसायिक बनाउँदै उचाइमा पुर्याएका उदाहरण थुप्रै छन्।
यस्ता व्यवसायले समग्र उत्पादन र निर्यातमा योगदान पुर्याउँदै आएका पनि छन्। त्यस्तै मध्येको एक हो ‘डाइमन्ड निटल्यान्ड’। यसले पश्मिनाबाट स्वेटर, कार्डिगन, हुडी, पोन्चो, सल र स्कार्फजस्ता कपडाहरू उत्पादन गर्दै आएको छ।
करिब सात वर्षअघि आधिकारिक कम्पनीका रूपमा दर्ता भएको यस कम्पनीले कम्प्युटर निटिङ मेसिनबाट यी र यस्ता कपडा बनाउँदै आएको छ। यसले पश्मिाना, ऊन, धागोलगायतका कच्चापदार्थ प्रयोग गर्छ। डाइमन्ड निटल्यान्डले चीन र मंगोलियाको शुद्ध पश्मिना, अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतको शुद्ध भेडाको ऊनलगायतका विभिन्न प्रकारका धागो प्रयोग गर्दै आएको छ।
डाइमन्ड निटल्यान्डले चीनमा निर्मित कम्प्युटराइज्ड फ्ल्याट निटिङ मेसिनमार्फत म्यानुफ्याक्चरिङको काम गर्दै आएको छ। जुन कम्प्युटर प्रयोगबाट कम्पनीले कपडा डिजाइन गर्ने, उत्पादन गर्ने काम गर्छ। कम्पनीका प्रबन्ध निर्देशक बिजु शाक्यका अनुसार सुरुमा ४५ देखि ५० लाख हाराहारी लगानी यस कम्पनीमा गरिएको थियो। हाल यो कम्पनी करिब डेढदेखि दुई करोड रुपैयाँ हाराहारी पुगेको छ।
बिजु शाक्यका बुबाको नाममा दर्ता रहेको यस कम्पनीको समग्र काम भने शाक्यले नै सम्हाल्दै आएका छन्। हाल यसको व्यापारिक मुख्य कार्यालय क्षेत्रपाटी ढल्कुमा रहेको छ। यस कम्पनीबाट म्यानुफ्याक्चरिङ गर्ने भएकाले विशेष गरी होलसेलहरूलाई नै केन्द्रमा राखेर बजारीकरण कार्य हुने गरेको छ। यस कम्पनीका सामग्री नेपाली बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरेको छ।
साथै, काठमाडौं ठमेललगायत स्थानमा पनि यस कम्पनीको उत्पादन विशेष रोजइमा पर्ने गरेको छ। यस्तै डाइमन्ड निटल्याडका उत्पादन अनलाइन प्लेटफर्म दराजमा चार वर्षदेखि उपलब्ध छन्। साथै, डोको डटकमलगायत अन्य केही प्लेटफर्मबाट पनि कम्पनीले उत्पाद बजारमा पुर्याउने गरेका छन्।
व्यावसायिक पृष्ठभूमिको कुरा गर्दा करिब २५ वर्ष अगाडिदेखि नै बिजु शाक्यको परिवारले धागो बनाउने काम गर्दै आएको थियो। त्यसपछि धागो बनाउने कामलाई नै थप व्यावसायिक बनाएर कम्पनीका रूपमा उत्पादन गर्न सुरु गर्यो। धागोको काम गरिरहँदा त्यो धागोबाट किन कपडा नै नबनाउने? भन्ने कुरा बिजु शाक्यको मनमा आयो। त्यसपछि उनीहरूले धागो उत्पादनका साथमा सोही धागो प्रयोग गरेर स्वेटर र अन्य किसिमका कपडा बनाएर बिक्री गर्न सुरु गरे।
कोरोना महामारी र रुस युक्रेन युद्धभन्दा अगाडि राम्रो व्यापार भए पनि भने त्यसपछिको व्यापार भने राम्रो हुन नसकेको शाक्य बताउँछन्। उनका अनुसार विशेषगरी अन्तर्राष्ट्रिय बजारमा हुने व्यापारमा भने तुलनात्मक असर परेको छ। त्यस अवस्थालाई मिलाउनका लागि हाल डाइमन्ड निटल्यान्डले स्थानीय स्तरमा प्रयोग हुने वस्तु उत्पादन बढी मात्रामा गरिरहेको छ।
‘हाल स्थानीय सामान नै बढी खपत हुने भएकाले हामीले यसतर्फ बढी ध्यान दिएका छौं,’ शाक्यले क्यापिटल नेपालसँग भने, ‘अहिले विशेषगरी कार्डिगनको उत्पादन बढी मात्रामा गर्दै आएका छौं।’ उनले पहिलाभन्दा अहिले केही व्यापार अवस्था कमजोर रहेको उल्लेख गर्दै क्रयशक्ति बढी भएका मानिसले नै वस्तु खरिद कम गर्ने गरेको बताए।
यस व्यवसायलाई थप बलियो बनाउका लागि शाक्यले आफ्नै ई–कमर्स प्लेटफर्म बनाउने तयारी गरेका छन्। व्यवसाय विस्तार गर्ने क्रममा अनलाइन अफलाइनका कुराहरुलाई थप बढाउँदै लग्ने सोचमा उनी छन्। साना तथा घरेलु उद्योगले यो समयमा सहुलियत लिएर अगाडि बढ्न आवश्यक भएको पनि शाक्यको भनाइ छ।
डाइमन्ड निटल्यान्ड आफ्ना उत्पादित वस्तु गुणस्तरमा निकै गम्भीर छ। यसले प्रयाग गर्ने रङ, कच्चापदार्थ र सामग्री पनि गुणस्तरीय छन्। सरकारले मुलुकमै उत्पादन हुने यस्ता वस्तुको करमा सहुलियत दिने, भ्याट नियमलाई सहज बनाउने, कच्चापदार्थ आयात गर्दा करमा छुट दिने र अन्तर्राष्ट्रिय बजारका अवसर दिएर उत्पादकका लागि व्यावसायिक वातावरण बनाउनुपर्ने पनि शाक्य बताउँछन्।
यसले तीन जिजीदेखि पाँच जिजी, सात जिजी देखि आठ जिजी, १२ जिजीदेखि १४ जिजीसम्मको फेसनेबल निटवेयर भएका कपडा उत्पादन गरिरहेको छ। कम्पनीले हातले बुनेका कपडा पनि बनाउने गर्छ। यसरी बुनिएका कपडा डिजाइनमा अद्वितीय रहेको र उत्कृष्ट फिनिसिङमा उपलब्ध भएको कम्पनीले जनाएको छ।