काठमाडौं। मौलिक संस्कृति र पुरानो शैली परिवर्तन नगरी आधुनिकभन्दा फरक अनुभूति गराउने एक रेस्टुरेन्ट हो– होनचा।
ललितपुर मंगलबजारमा रहेको होनचा एक शताब्दी पुरानो रेस्टुरेन्ट हो। एउटा जीवित इतिहास बोकेको होनचा अहिले तेस्रो पुस्ता अर्थात नाति (अशोक व्यञ्जनकार) ले चलाइरहेका छन्।
हजुरबुबा कृष्णलालले सुरु गरेको रेस्टुरेन्ट परम्परागत खाना र शैली अपनाएकै कारण पछिल्लो समय झन् लोकप्रिय हुँदै गएको छ। १९९० सालको भूकम्प अघिबाटै भोजनालय मंगलबजारमा सञ्चालनमा थियो। भोजनालयको नाम पछि ‘होनचा’ राखिएको सञ्चालक अशोक व्यञ्जनकार बताउँछन्।
पुस्ता फेरिए पनि होनचामा पाइने परिकार फेरिएको छैन। ‘एक सय वर्ष पहिले पाइने परिकारलाई अहिलेसम्म पनि निरन्तरता दिएको छौं,’ व्यञ्जनकार भन्छन्, ‘हाम्रो परिवारको स्वामित्वमा सञ्चालित होनचा नेवारी खानाका लागि प्रसिद्ध छ।’
होनचा प्रसिद्ध कृष्ण मन्दिर पछाडि छ। नेवारी खानाका पारखीका लागि यो प्रख्यात गन्तव्य हो। होनचामा बारा, आलु, छोयला, भुटन, झोल मासु, अचार, भटमास र केराउलगायत १० देखि १२ किसिमका नेवारी खानाका परिकार पाइन्छ। पहिला दाउरामा पकाएर खुवाउने होनचामा अहिले भने ग्यास प्रयोग हुने गरेको छ।
भोजनालयको नाम कसरी भयो होनचा?
कृष्णलाल व्यञ्जनकार होन चोकमा बस्थे। होन चोकमा बस्ने भएकाले चिन्ने सबैले होनै होनै भन्ने भएपछि पसलको नाम होनचा राखिएको व्यञ्जनकारको भनाइ छ।
‘पारिवारिक व्यवसाय भएकाले अरूलाई दिइएको छैन। पुस्तैनी व्यवसाय भएकाले यहाँ काम पनि परिवारभित्रकै सदस्यले गर्छन्। कुक पनि बाहिरको राखिएको छैन,’ उनी भन्छन्, ‘होनचामा आउने सबैलाई हामी आफंै पकाएर खुवाउँछौं। एकाघरका सदस्यबाहेक अन्यलाई किचेनमा राखिएको छैन।’
पारिवारिक व्यक्तिबाहेक बाहिरका कसैलाई पनि होनचामा कुक वा किचेनका अन्य सदस्य राख्न नपाइने भएकाले शाखा विस्तारको योजना पनि नरहेको उनको भनाइ छ।
‘भविष्यमा छोरानातिले चाहेमा व्यवसाय विस्तार गर्न सक्लान् वा गर्लान्, त्यो उनीहरूको विषय भयो।’ होनचामा खाना पकाउन ग्यास प्रयोगबाहेक अरू कुनै परिवर्तन नगरिएको बताउने व्यञ्जनकार हजुरबुबाकै पालाको स्वाद रेस्टुरेन्टमा दिन सकिएकोमा सन्तुष्ट छन्।