काठमाडौं। एनआइसी एसिया बैंकले आयोजना गरेको ‘एनआइसी एसिया फुटसल कप २०२३’ प्रतियोगिता सम्पन्न भएको छ।
कर्मचारीबीच टिमवर्क, नेतृत्व विकास तथा स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा बैंकका ३ हजार ९ सयभन्दा बढी कर्मचारी सहभागी भएको बैंकले जनाएको छ।
सात प्रदेशबाट छानिएका २० पुरुष र १५ महिला टिमको निर्णायक खेल काठमाडौंमा अवस्थित धन्यन्तरी फुटसल ग्राउन्डमा भदौ ९ मा सम्पन्न भएको थियो। लिग तथा नकआउट चरणमा सम्पन्न खेलको फाइनलमा पुरुषतर्फ बैंकको रजिस्टर्ड अफिस टिम विजेता र डिजिटल पेमेन्ट इकोसिस्टम टिम उपविजेता बने भने महिलातर्फ इमेज एक्सपिरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्ट टिम विजेता र सुदूरपश्चिम प्रदेश बी टिम उपविजेता बन्यो।
खेल अवधिभरि उत्कृष्ट खेल्ने महिलातर्फ सुदूरपश्चिम प्रदेश बीकी रक्षा शाही र पुरुषतर्फ डिजिटल पेमेन्ट इकोसिस्टम टिमका विवेक चौधरी छनौट भए। त्यसैगरी उत्कृष्ट गोलकिपरतर्फ इमेज एक्सपिरियन्सकी सोना थापा र रजिस्टर्ड अफिसका मञ्जित काकी छन्।
त्यस्तै उच्च स्कोररतर्फ कर्णाली प्रदेशकी उर्मिला चौधरी र रजिस्टर्ड अफिसका ठाकुर श्रेष्ठ छन्। प्रतियोगिताका विजेता, उपविजेता, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्तालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो।
यसखालको प्रतियोगिता नेपालको कर्पोरेट क्षेत्रमा हुने खेल इभेन्टमध्ये पहिलो रहेको आयोजकको दाबी छ। जहाँ प्रत्यक्ष संलग्न १ हजार २ सयभन्दा बढी कर्मचारीसहित कूल ३ हजार ९ सयभन्दा बढी कर्मचारी सहभागी थिए।
प्रतियोगिता समापन कार्यक्रममा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङ, नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक थमन भुसाल, बैंकका डेपुटी सिइओद्वय सुधीरनाथ पाण्डे र सन्तोष राठी, प्रमुख डेभलपमेन्ट अफिसर कैलाश गौतम, कम्पनी सचिव दिपेन कार्की, ब्रान्डिङ तथा कर्पोरेट कम्युनिकेसन्स् विभाग प्रमुख सरोज भट्टराईलगायत उपस्थित थिए।
एनआइसी एसिया बैंकले हाल ३ सय ६० शाखा, ५ सय ९१ एटिएम, १ सय १० विस्तारित काउन्टर तथा ६१ शाखारहित सञ्जाल विस्तार गरेको छ। बैंकले हालसम्म प्रत्यक्ष र अप्रत्यक्ष गरी कूल २३ अर्ब ५८ करोडभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरेको तथा गत आर्थिक वर्ष ३ अर्ब ६६ करोडभन्दा बढी राजस्व बुझाएको थियो।