काठमाडौं। लगानी बोर्डले आगामी आयोजनामा नीतिगत स्पष्टता खोज्ने भएको छ। थुप्रै आयोजना नीतिगत अस्पष्टाताका कारण अगाडि बढ्न नसकेको भन्दै बोर्डले अबको आयोजनामा नीतिगत स्पष्टता खोज्ने भएको हो।
यसअन्तर्गत बोर्डले लगानी भित्र्याउने विषय र त्यसबाट पुग्ने फाइदासँगै आयोजना कार्यान्वयनको नीतिगत आधारसमेत प्राथमिकतामा राख्ने छ। यसबाट सम्झौता भएपछि पनि विभिन्न नीतिगत झमेलाका कारण आयोजना कार्यान्वयनमा जान नसक्ने अवस्था अन्त्य हुने बोर्डको विश्वास छ।
शुक्रबार बोर्डले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँग गरेको अन्तक्र्रियामा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टले अबका आयोजना र लगानीमा नीतिगत स्पष्टता खोज्ने स्पष्ट पारे।
‘नेपालमा लगानी भित्र्याउन दिनुपर्ने आधारभूत सुविधामा पूर्वाधार पनि पर्छ। जसको विकास राम्रो हुँदै गएको छ भने यसलाई हामीले थप राम्रो बनाउँदै लग्नुपर्ने आवश्यक्ता छ,’ भट्टले भने, ‘सडकलाई विशेषगरी विकास गर्न सकेको खण्डमा हामीले बाहिरको लगानी भित्र्याउन सक्छौं। यसर्थ, यसमा जोड दिन पनि आवश्यक छ।’
उनले आजको भोलि नै वार्ता सुरु गरेर सहजै सहमतिका दस्ताबेज तयार गर्न हम्मेहम्मे हुने बताउँदै त्यो पाटोबाट हेर्दा नेपालमा लगानी भित्र्याउन धेरै नै प्रयास गरिरहेको बताए।
‘प्रत्यक्ष लगानी भटाभट नेपाल भित्रियोस् भन्ने चाहना नै हाम्रो छ,’ उनले भने, ‘अब एउटा योजना लगभग टुंगिने चरणमा रहेको छ। यो सम्झौता टुंगिएर पाँचबाट ६ वटा सम्झौता कार्यान्वयनमा जानु हाम्रा लागि पनि उपलब्धी हो।’
उनले लगानीको साथमा नेपालले अथाह ज्ञान पनि भित्र्याउन आवश्यक भएको बताए। ज्ञान भित्र्याउनु पनि सहज कुरा नभएको भन्दै उनले ज्ञान ग्रहण गरेर यहाँ प्रयोग गर्न सक्ने र त्यसबाट फाइदा लिन सक्ने जनशक्तिको पनि त्यतिकै खाँचो रहेको बताए।
आफ्नो कार्यकालमा बोर्डमार्फत ४ खर्ब ६२ अर्ब ६८ करोड रुपैयाँबराबरको लगानी स्वीकृत गरेको पनि भट्टले जानकारी दिए। भट्ट सन् २०२० अगस्ट ५ मा बोर्ड सिइओ नियुक्त भएका थिए। बोर्डकाअनुसार हालसम्म (३ वर्ष) अवधीमा उक्त रकमबराबर लगानी स्वीकृत भएको हो।
भट्टले आफ्नो पालामा जलविद्युत आयोजना, उद्योगजस्ता क्षेत्रमा लगानी स्वीकृत भएको पनि बताए। ‘पश्चिम सेती, एसआर ६ लगायत जलविद्युत् आयोजना, डाबर नेपालजस्ता उद्योगलगायत क्षेत्रमा मेरै पालामा लगनी स्वीकृत भएको छ,’ भट्टले भने, ‘मेरै पालामा प्रोजेक्ट बैंक गाइडलाइन, लगानीसम्बन्धी गाइडलाइन जस्ता नीतिगत सुधार पनि भएका छन्।’
उनले समग्रमा आफ्नो कार्यकाल उपलब्धीमूल भएको बताए। बाँकी रहेको करिब एक वर्ष कार्यकाल अवधिमा पनि लगानी भित्र्याउन प्रयत्नशील रहने उनको भनाइ छ।