पोखरा। ‘आर्थिक विकासका लागि पर्यटन व्यवसायमा महिला’ भन्ने नाराका साथ स्थापना भएको महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले समाज रूपान्तरणमा योगदान पुर्याएका पोखराका चार महिलालाई सम्मान गरेको छ।
‘गण्डकी प्रदेशको दिगो पर्यटन, सांस्कृतिक पर्वहरूको प्रवर्द्धन’ उद्देश्यका साथ आयोजना गरिएको तिज विशेष नारी सम्मान कार्यक्रम २०८० मा प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले उनीहरुलाई सम्मान गरेकी हुन्।
सम्मानि हुनेमा हिंसा पीडित महिला एवं मानसिक स्वास्थ्य क्षेत्रमा क्रियाशील अधिकारकर्मी विना सिलवाल, पर्यापर्यावरण संरक्षण एवं महिला र बालबालिका न्यायका पक्षमा आवाज उठाउँदै आएकी अधिवक्ता भगवती पहारी, पर्यटन व्यवसायी एवं अभियन्ता गोमा ढकाल र पाँचवटा क्यान्सरसँग जुधेर पनि सक्रिय उद्यमी जीवन व्यतित गरिरहेकी महिला उद्यमी एवं अभियन्ता लक्ष्मी शर्मा भट्टराई छन्।
सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्य भट्टराईले समाज रूपान्तरणमा महिलाको योगदानको चर्चा गर्दै तीज पर्व पछिल्लो समय महिलाको महान पर्वका रूपमा विकसित हुँदै एकअर्काबीच माया बाड्ने स्वतन्त्रताको पर्वका रूपमा स्थापित हुँदै गएको बताइन्।
उनले सामाजिक विकासक्रमसँगै संस्कृति पनि हस्तान्तरण हुँदै जाने र समुदायले अपनत्व लिने संस्कृति विकास गर्नुपर्नेमा जोड दिइन्। उनले तीज पर्वका विषयमा विभिन्न टिकाटिप्पणी आइरहेको सन्दर्भलाई जोड्दै तीज पर्व पनि सरकारसँग जोडिन पुगेको बताइन्।
उनले पोखरा पर्यटकीय गन्तव्यसँगै आर्थिक रूपमा गतिशिल सहरका रूपमा विकास गर्न सबैको साझा र स्पष्ट दृष्टिकोण हुनुपर्नेमा जोड दिइन्।
कार्यक्रमा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य देवका पहारीले पर्यटन क्षेत्रमा महिला पर्यटन व्यवसायीको योगदान उल्लेखनीय रहेको जनाउँदै चाडपर्वलाई महिला शसक्तीकरणसँग जोडेर अगाडि लानुपर्ने बताइन्।
कार्यक्रममा सम्मानित चारैजना व्यक्तित्वले सामाजिक क्षेत्रका लाग्दा भोग्नु परेको आफ्नो अनुभव सुनाउँदै सम्मानले थप क्रियाशिल हुन ऊर्जा मिलेको भनाइ राखेका थिए। महिलालाई साँधुरो घेरामा नभइ वृहतरूपमा स्वतन्त्र र खुला बहस गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले परिवर्तित समयसँग चाडपर्व मान्ने मनाउने तरिका पनि बदलिँदै गएको जनाउँदै तीज पर्वलाई गलत व्याख्या नगरी महिला अधिकार स्वतन्त्रताको पर्वका रूपमा मनाउनुपर्नेम जोड दिइन्।
कार्यक्रममा संस्थाका अध्यक्ष उमा भण्डारीले तीज पर्वले महिलामा उत्साह उमंग र ऊर्जा दिने भएकाले पर्वको महत्व र महिमा सकारात्मक रूपमा लिएर कार्यक्रम आयोजना गरिएको बताइन्।
उनले संस्थाले स्थापनादेखि नै महिला सशक्तिकरणका लागि विभिन्न कार्य गर्दै आएको र आगामी दिनमा पर्यटन क्षेत्र विकाससँगै सदस्यको नेतृत्व विकासमा जोड दिएर कार्यक्रम गर्दै जाने बताइन्।