काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनी र हेलिकोप्टर कम्पनीमा आबद्ध कर्मचारीका लागि कडा नीति ल्याएको छ।
पछिल्लो समय पाइलटहरु नै हेलिकोप्टर सञ्चालक भएको विवरण सार्वजनिक भएसँगै प्राधिकरणले त्यसलाई डन्डा चलाउँदै व्यावसायिक गतिविधिमा लाग्न नपाउने नीति ल्याएको हो।
योसँगै वायुसेवा सञ्चालकले प्राधिकरणबाट उडान अनुमति पाएको पाँच वर्षसम्म अरू व्यक्तिलाई सेयर हस्तान्तरण गर्न नपाउने भएका छन्।
वायुसेवा कम्पनीका ‘एकाउन्टेबल म्यानेजर’ तथा ‘पोस्ट होल्डर’ हरूले कम्पनीसँग प्रत्यक्ष वा अप्रत्यक्ष स्वार्थ बाझिने प्रकृतिका गतिविधि एवं व्यावसायिक कार्य (जस्तै टुर, ट्राभल) आदिमा संलग्न हुन नपाउने, ‘नो अब्जेक्सन सर्टिफिकेट’ प्राप्त गरेको न्यूनतम पाँच वर्ष अवधिसम्म सेयर लगानीकर्ताले आफ्नो सेयर बिक्री गर्न नपाउने, प्राधिकरणको स्वीकृतिबिना कुनै पनि सरकारी स्वामित्व प्राप्त एवं निजी वायुसेवा कम्पनीले एकाउन्टेबल म्यानेजर तथा पोस्ट होल्डर नियुक्त गर्न पाउने छैनन्।
वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक, एकाउन्टेबल म्यानेजर तथा पोस्ट होल्डरले प्राधिकरण तथा सरकारका नीति तथा कार्यहरू विपरीत क्रियाकलाप सञ्चालन गर्न एवं त्यससम्बन्धमा आफ्ना धारणाहरु सार्वजनिक गर्न समेत नपाउने भएका हुन्।
वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक तथा एकाउन्टेबल म्यानजेरले प्राधिकरणद्धारा प्रदान गरिएको सिपिएल, एटिपिएल वा एएमएल लाइसेन्स प्राप्त गरेको भए सोको अभ्यास व्यवसायिक उडान वा मर्मतसम्भार गतिविधि समेत गर्न नपाउने उल्लेख गरेको छ।
यस्तै प्राधिकरणले वायुसेवा कम्पनीहरुले एकाउन्टेबल म्यानेजको नियुक्ति, आवश्यक न्यूनतम योग्यता, अनुभव तथा अख्तियारी सम्बन्धमा विशेष कार्यविधि जारी समेत गरेको जनाएको छ।
प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई मर्जरमा आउन चाहनेहरुका लागि समेत बाटो खुला गरेको छ।