काठमाडौं। विद्युतीय सवारी तथा सामग्रीबारे जानकारी गराउने उद्देश्य साथ शुक्रबारबाट ‘नेपाल इभी तथा नेपाल पावर लाइट एन्ड इलेक्ट्रोनिक प्रदर्शनी’ सुरु भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रदर्शनी उद्घाटन गरे। मुलुक क्रमशः ऊर्जामा आत्मनिर्भर हुँदै गएकाले विद्युतीय सवारीसाधन र उपकरण प्रयोगलाई बढावा दिने उद्देश्यका साथ सरकारले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको उनले जानकारी दिए।
ऊर्जा क्षेत्रको समयानुकूल विकासका लागि सरकारले हालैमात्र नयाँ विद्युत विधेयक तय गरेको र संघीय संसदमा पेस हुने चरणमा रहेको मन्त्री बस्नेतको भनाइ छ। विद्युतीय सवारीसाधन प्रवर्द्धन गर्न देशभरि नै चार्जिङ स्टेसन निर्माणलाई अभियानका रूपमा अगाडि बढाइएको उनले जानकारी दिए।
सरकारले देशभरि नै ५ सय चार्जिङ स्टेसन निर्माण गर्ने तयारी गरेको छ। यस्तै, नेपाल विद्युत प्राधिकरणले निर्माण गरेका ५० चार्जिङ स्टेसन अधिकांश सञ्चालनमा आइसकेका छन्।
वातावरणीय सुरक्षा र जलवायु परिवर्तनले पारेको प्रभाव नियन्त्रणका लागि पनि स्वच्छ ऊर्जा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता बढेर गएको मन्त्री बस्नेतले बताए।
विद्युतीय सामग्रीको प्रयोगमा बढावा दिनु भनेको वातावरणको संरक्षण गर्नु पनि हो भन्ने मान्यताको विकास गराउन मन्त्रालयले योजनाबद्ध पहल थालेको उनको भनाइ छ।
प्रदर्शनीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, भारतीय दूतावासका प्रतिनिधिलगायतको उपस्थिति थियो।
आजदेखि तीन दिनसम्म चल्ने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी सयभन्दा बढी कम्पनीका कक्ष छन्। प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्री राखिएका छन्।