काठमाडौं। केही समयपछि सार्वजनिक हुने सेरेस ब्रान्डको विद्युतीय गाडी ‘सेरेस–३’ काठमाडौं आइपुगेको छ।
भदौ २६ बाट सञ्चालन हुने नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी गरिएको यो ब्रान्डलाई एमएडब्लु वृद्धि अटोकर्पले नेपाली बजारमा ल्याउन लागेको हो।
कम्पनीले यो गाडीको मूल्य ५० लाख रुपैयाँ निर्धारण गर्न लागेको कम्पनी स्रोतले जनाएको छ।
५२.७ किलोवाट आवरको ब्याट्री जडित यो गाडीले ९९ किलोवाट पावर दिने कम्पनीले जनाएको छ।
१ सय ९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएको सेरेस–३ ले ४ सय ५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
सुरक्षाका लागि यसमा ६ एयरब्याग, इएसपी, इबिए/इबिडी, हिल लन्च एसिस्टेन्स, अटो होल्ड, एचडिसी, टिपिएमएस, लेन डिपार्चर वार्निङ र ट्र्याक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरालगायत फिचर छन्।
त्यस्तै यसमा १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम छ। जसमा एप्पल कार प्ले र एन्ड्रोइड अटो, प्यानोरामिक सनरुफ, एलइडी हेडलाइट, आटो फोल्ड ओआरभिएम, इलेक्ट्रिक एड्जस्टेबल सिट, मल्टिड्राइभ मोड, हिटेड फ्रन्ट सिटलगायत फिचर छन्।
ह्वावेसँग साझेदारी रहेको विद्युतीय सवारी ब्रान्ड सेरेसको विश्वका ७० भन्दा बढी देशमा उपस्थिति छ। ह्वावेको सहयोगमा सेरेसले सन् २०२६ सम्म १० लाख विद्युतीय कार उत्पादन गर्ने योजना बनाएको छ। त्यस्ता कार विल्कुलै फरक र एडभान्स हुने कम्पनीले जनाएको छ।
हालसम्म सेरेसले १ लाखभन्दा बढी विद्युतीय सवारीसाधन निर्माण गरी आपूर्ति गरिसकेको छ। सिलिकन भ्यालीमा स्थापना भएको सेरेस ब्रान्ड इभी बजारमा आक्रामक ढंगले अघि बढिरहेको छ।