काठमाडौं। बागमती प्रदेशमा ट्याक्सी भाडा पुनः बढ्ने भएको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले आगामी मंसिरदेखि ट्याक्सी भाडा समायोजन गर्ने भएको हो।
मन्त्रालयले मूल्यवृद्धिका आधारमा ट्याक्सी भाडा समायोजन गर्ने तयारी गरेको मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बताए।
‘आगामी मंसिरदेखि इन्धनलगायत अन्य वस्तु तथा सेवाको मूल्यवृद्धि मूल्यांकन गरी ट्याक्सीको भाडा समायोजन तयारी थालेका छौं,’ मन्त्रालयका सूचना अधिकारी पौडेलले क्यापिटल नेपालसँग भने, ‘२०७८ मा सबै कम्पोनेन्टलाई आधार मानेर भाडा समायोजन गरेका थियौं। एकपटक समायोजन गरेपछि दुई वर्षसम्म त्यसैलाई मान्ने मान्यता छ। त्यसकारण यसपालि मंसिरमा समायोजन गर्ने तयारी गरेका हौं।’
आगामी मंसिरमा सबै कम्पोनेन्टलाई आधार मानेर भाडा समायोजन गर्दा अहिलेको भाडादरमा केही थप हुन सक्ने उनको अनुमान छ।
सरकारको यो निणर्य स्वागतयोग्य भएको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव दिलीपकुमार श्रेष्ठ बताउँछन्।
‘हामीले चाहेको यही नै हो। त्यसकारण केही दिनअघिको इन्धन मूल्यलाई मात्र आधार मानेर बढाइएको भाडाको विरोध गरेका थियौं,’ उनले भने, ‘प्रत्येक वर्ष टायर, लुब्रिकेन्ट, पार्ट्सलगायतको मूल्य बढ्छ। त्यसलाई आधार मानेर प्रत्यक वर्ष भाडा समायोजन गर्नु राम्रो हो।’
प्रत्येक वर्ष भाडा समायोजन गरे ट्याक्सी व्यवसायी गुनासो सुनाउन विभाग, मन्त्रालयलगायतका सरकारी निकाय धाउनु नपर्ने श्रेष्ठको भनाइ छ।
सवारीसाधनको खर्च हेरेर भाडा समायोजन गर्नु राम्रो अभ्यास भएको बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका अध्यक्ष दीपक नेपाल बताउँछन्।
‘भाडा बढाउँदा इन्धनलाई मात्र आधार मान्ने चलन छ। गाडी खर्चमा इन्धनको हिस्सा ३५ प्रतिशतमात्र हो। ६५ प्रतिशत हिस्सा ओगटेको टायर, लुब्रिकेन्ट, पार्ट्सलगायतलाई पनि आधार मान्ने हो भने ट्याक्सी व्यवसायी आन्दोलित हुनुपर्दैन,’ उनले भने।
भाडा समायोजन सरकारको नयाँ ढोंगमात्र भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाको आरोप छ।
‘दसैं आउन लाग्यो। अग्रिम टिकट खुलाउनुपर्छ। त्यसकारण सरकारले व्यवसायीलाई फकाउनमात्र हल्ला गरेको हो,’ उनले भने।
समायोजन गर्नै लागेको भए पनि सरकारले निकै ढिलो गरेको उनी बताउँछन्।
‘२०७८ मै प्रत्येक वर्ष चैत मसान्तमा भाडा समायोजन गर्ने सहमति भएको थियो। तर, सरकारले लागू गरेन। हामीले भाडा बढाउन भनेका छैनौं। विधिपूर्वक समायोजन गर्नमात्र भनेका हौं। त्यो पनि गर्दैन भने सरकार र कर्मचारी के गरेर बस्छन्?,’ सिटौलाको प्रश्न छ।
पछिल्लोपटक श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीको गत भदौ ४ मा बसेको मन्त्रीस्तरीय बैठकले साउन ७ देखि लागू हुने गरी ट्याक्सी भाडा बढाएको थियो।
ट्याक्सीको सुरुवाती कल (फ्ल्याग डाउन) ५२ रुपैयाँ कायम गरियो भने प्रति २ सय मिटर भाडा दर १० रुपैयाँबाट बढाएर १० रुपैयाँ ३४ पैसा बनाइएको छ। त्यस्तै प्रतिक्षा शुल्क पनि १.२० मिनेटबाट बढाएर १ रुपैयाँ २४ पैसा बनाएको थियो।
त्यसैगरी रात्रिकालीन ट्याक्सी सेवा भाडादर फ्ल्याग डाउन ५२ रुपैयाँ यथावत राखी बेलुका ९ देखि बिहान ४ बजेसम्म प्रति २ सय मिटरको १५ रुपैयाँ ५२ पैसा बनाइएको थियो।
सरकारले भाडा बढाएता पनि अवैज्ञानिक र अव्यवहारिक ढंगले भाडा बढाइएको भन्दै व्यवसायीले विरोध जनाएका थिए।