काठमाडौं। निजामती कर्मचारीपछि नेपालमा सबैभन्दा बढी आकर्षण बैंकको जागिरमा छ। यस क्षेत्रले दिने आकर्षक तलब भत्ता, बोनस तथा अन्य अतिरिक्त सेवा सुविधाले गर्दा नै व्यवस्थापन संकाय लिएर विद्यार्थीहरू पठनपाठन सुरु गर्छन्।
नेपालमा बैंकिङ क्षेत्र जागिर आकर्षणको केन्द्रबिन्दु बन्नुको मुख्य कारण संस्थाले कर्मचारीलाई दिने अन्य रोजगारी प्रतिष्ठानभन्दा उच्च तलबसँगै नाफाको १० प्रतिशत बोनसले पनि हो।
प्रत्येक बैंक तथा वित्तीय संस्थाले बोनस ऐनले तोकेअनुसार कूल नाफा अर्थात कर तिर्नुअघिको नाफाबाट १० प्रतिशत कर्मचारीलाई बोनसवापत छुट्ट्याउँछन्। सरकारलाई कर तिर्नुअघि नै कर्मचारीलाई १० प्रतिशत छुट्ट्याएर आएको खुद नाफाबाट बैंकहरूले सेयरधनीलाई प्रतिफल बाँड्छन्।
यसरी छुट्ट्याएको बोनस केही बैंकले केही प्रतिशत आर्थिक वर्ष समाप्त भएपछि अर्थात साउनमै, केहीले दसैं र अधिकांशले वार्षिक साधारणसभा सम्पन्न भएपछि कर्मचारीलाई वितरण गर्छन्।
गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई (तलबभत्ता, अन्य सेवा सुविधा र बोनस) को कूल ५५ अर्ब १२ करोड ६३ लाख रुपैयाँ खर्च गरेका छन्। जसको १८.८८ प्रतिशत अर्थात १० अर्ब ४० करोड ६५ लाख रुपैयाँबराबर कर्मचारीलाई बोनसवापत बाँड्न छुट्ट्याएका हुन्।
बैंकहरूले अघिल्लो आर्थिक वर्षमा कर्मचारीलाई ११ अर्ब ७६ करोड ५५ लाख रुपैयाँ बोनस बाँडेका थिए। जसमा ११.५५ प्रतिशत कम बोनस बैंकहरूले गत आवमा कर्मचारीलाई दिन लागेका हुन्। अघिल्लो आवको नाफाबाट गत आवमा कर्मचारीले बुझेको बोनसभन्दा गत आवको नाफाबाट चालू आवमा बुझ्ने बोनस १ अर्ब ३५ करोड ८९ लाख रुपैयाँ थोरै हुनेछ।
यी हुन् बोनसमा सबैभन्दा बढी खर्च गर्ने बैंक
गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर्मचारीलाई सबैभन्दा बढी बोनस बाँड्नेमा नबिल बैंक दरिएको छ। नबिलले ३ अर्ब ४९ करोड ४४ लाख रुपैयाँ कर्मचारीमा खर्च गरेको थियो।
तर, कूल कर्मचारी खर्चमा सबैभन्दा बढी बोनस भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्न लागेको छ। नबिलले कूल कर्मचारी खर्चमा ३४.२९ प्रतिशत अर्थात १ अर्ब १९ करोड ८२ लाख रुपैयाँ बोनस बाँड्न छुट्ट्याएको हो।
तर, स्ट्यान्डर्ड चार्टर्डले कूल ९८ करोड ९८ लाख रुपैयाँ कर्मचारीमा खर्च गर्दा त्यसको ५६.५५ प्रतिशत अर्थात् ५५ करोड ९७ लाख रुपैयाँ बोनस बाँड्नलाई नै छुट्ट्याएको हो।
गत आवमा कर्मचारी बोनसमा सबैभन्दा बढी खर्च गर्ने दोस्रो नम्बरमा ग्लोबल, तेस्रोमा नबिल र चौथोमा एभरेस्ट बैंक छन्। ग्लोबल आइएमईले कर्मचारीमा कूल ३ अर्ब १ करोड ५० लाख रुपैयाँ खर्च गर्दा ३७.२४ प्रतिशत अर्थात १ अर्ब १२ करोड २६ लाख रुपैयाँ बोनस छुट्ट्याएको छ।
एभरेस्टले कूल १ अर्ब ५८ करोड ४१ लाख रुपैयाँ कर्मचारीमा खर्च गर्दा ३३.०७ प्रतिशत अर्थात ५२ करोड ३८ लाख रुपैयाँ कर्मचारीलाई बोनस बाँड्न छुट्ट्याएको छ।
वाणिज्य बैंकहरूले भन्दा बढी विकास बैंकले कर्मचारी बोनसमा खर्च छुट्ट्याएका छन्। मितेरी विकास बैंकले सानिमा र हिमालयन बैंकभन्दा धेरै कूल कर्मचारी खर्चबाट बोनस हिस्सा छुट्ट्याएको हो।
सानिमा बैंकले कूल कर्मचारी खर्चबाट ३०.५३ प्रतिशत र हिमायनले २८.३४ प्रतिशत कर्मचारीलाई बोनस रकम छुट्ट्याउँदा मितेरीले कूल कर्मचारीको ३२.११ प्रतिशत बोनस छुट्ट्याएको छ।
यसैगरी गरिमा विकास बैंकले कूल कर्मचारी खर्चमा २७.१३ प्रतिशत बोनस छुट्ट्याउँदा प्राइमले २७.१३ प्रतिशत, लुम्बिनी विकास बैंक २५.८४, एनएमबी २४.६४, नेपाल एसबिआई २४.३५, लक्ष्मी सनराइज २३.९१, सिद्धार्थ २१.७९ र सिटिजन्स बैंकले २१.१२ प्रतिशत बोनसका लागि छुट्ट्याएका छन्।
कूल कर्मचारी खर्चमा वाणिज्य बैंकतर्फ बोनसका लागि न्यूनतम ६.६६ देखि अधिकतम ५६.५५ प्रतिशतसम्म, विकास बैंकतर्फ ३.०३ देखि ३२.११ र फाइनान्स कम्पनीतर्फ ३.६८ देखि १७.९२ प्रतिशतसम्म छुट्ट्याइको छ।
सरकारी स्वामित्वका वाणिज्य बैंकले कूल कर्मचारी खर्चमा अधिकांश विकास बैंक र फाइनान्स कम्पनीले भन्दा थोरै बोनस खर्च छुट्ट्याएका छन्। जसमा राष्ट्रिय वाणिज्य बैंक ९.८३ प्रतिशत, कृषि विकास बैंक ७.६४ र नेपाल बैंकले ६.६६ प्रतिशतमात्रै बोनस छुट्ट्याएका हुन्।
एक वर्षमा बोनस अन्तर
बैंक तथा वित्तीय संस्थाले अघिल्लो आर्थिक वर्षको नाफाबाट गत आवमा दिएको बोनसभन्दा गत आवको नाफाबाट अब दिने नाफा १ अर्ब ३५ करोड रुपैयाँले घटाएका छन्। यसरी बोनस रकम घटाउनेमा ८ वाणिज्य बैंक, ७ विकास बैंक र ४ फाइनान्स कम्पनी छन्।
वाणिज्य बैंकका बोनस
एक वर्ष अन्तरमा सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका कर्मचारीले पाउने बोनस रकम साढे ११ प्रतिशतले घटे पनि समग्र वाणिज्य बैंकको भने ४.०१ प्रतिशतले वृद्धि भएको छ।
वाणिज्य बैंकहरूले अघिल्लो आवमा कर्मचारी बोनसका लागि ९ अर्ब ९ करोड ६६ लाख रुपैयाँ छुट्ट्याएका थिए। गत आवको नाफाबाट कर्मचारीलाई ९ अर्ब ४६ करोड १७ लाख रुपैयाँ बोनस बाँड्न पैसा छुट्ट्याएका छन्।
एक वर्षमा वाणिज्य बैंकका कर्मचारीले पाउने बोनस रकम ३६ करोड ५१ लाख रुपैयाँले बढेको हो। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये एक वर्ष अवधिमा कर्मचारीलाई दिने बोनस रकम ६ वटाले ३० प्रतिशमाथि ५५.३६ प्रतिशतसम्म र पाँचवटाले ०.५८ प्रतिशतदेखि २० प्रतिशतसम्मले वृद्धि गरेका छन्। उक्त अवधिमा सबैभन्दा बढी कर्मचारीलाई दिने बोनस स्ट्यान्डर्ड चार्टर्डको र सबैभन्दा कम एनआइसी एसिया बैंकले वृद्धि गरेका हुन्।
अघिल्लो आवको नाफाबाट कर्मचारीलाई छुट्ट्याएको बोनसभन्दा गत आवको नाफाबाट कर्मचारीलाई छुट्ट्याएका बोनस ८ वाणिज्य बैंकको घटेको छ। यी बैंकले कर्मचारीलाई दिने बोनस रकम भने एक वर्षको अवधिमा २.३१ देखि ५१.५२ प्रतिशतसम्म घटाएका हुन्।
गत आवको नाफाबाट सबैभन्दा बढी नबिल बैंकले कर्मचारीलाई बोनस छुट्ट्याउँदा एक वर्ष अवधिमा सबैभन्दा बढी यस्तो बोनसमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले वृद्धि गरेको छ। स्ट्यान्डर्ड चार्टर्डले एक वर्ष अवधिमा कर्मचारीलाई दिने बोनस ५५.३६ प्रतिशतले वृद्धि गरेर ५५ करोड ९७ लाख रुपैयाँ छुट्ट्याएको हो।
नबिलले एक वर्ष अवधिमा ५१.८० प्रतिशतले वृद्धि गरेर १ अर्ब १९ करोड ८२ लाख र लक्ष्मी बैंकले ४१.४९ प्रतिशतले वृद्धि गरेर ३५ करोड ७८ लाख रुपैयाँ छुट्ट्याएको हो।
एक वर्ष अवधिमा ग्लोबल आइएमईले ३६.५३ प्रतिशत वृद्धि गरी १ अर्ब १२ करोड २६ लाख, नेपाल एसबिआईले ३५.३९ प्रतिशत वृद्धि गरेर ३५ करोड ७८ लाख र एभरेस्ट बैंकले ३० प्रतिशत वृद्धि गरी ५२ करोड ३८ लाख रुपैयाँ कर्मचारीलाई बोनस छुट्ट्याएका हुन्।
उक्त अवधिमा कृषि विकास बैंकले १७.३३ प्रतिशत वृद्धि गरेर २४ करोड ४५ लाख, सानिमाले १४.१८ प्रतिशत वृद्धि गरी ४१ करोड १९ लाख, प्रभु बैंकले ८.९१ प्रतिशत वृद्धि गरेर ४५ करोड २६ लाख, नेपाल बैंकले ३.५६ प्रतिशत वृद्धि गरी २३ करोड ६० लाख र एनआइसी एसियाले ०.५८ प्रतिशतले वृद्धि गरेर ७१ करोड ९७ लाख रुपैयाँ बोनस रकम गत आवको नाफाबाट चालू आवमा बाँड्न छुट्ट्याएका छन्।
उक्त अवधिमा ८ वाणिज्य बैंकको भने यस्तो बोनस रकम घटेको छ। जसमा सबैभन्दा धेरै हिमालयन बैंकको ५१.५२ प्रतिशत घटेर ५१ करोड ५१ लाख, प्राइम बैंकको ३६.३२ प्रतिशत घटेर ३७ करोड ५ लाख र कुमारी बैंकको २३.२८ प्रतिशत घटेर ३४ करोड १५ लाख भएको छ।
अघिल्लो आवभन्दा गत आवको नाफाबाट कर्मचारीलाई दिइने बोनस माछापुच्छ«े बैंकको १४.४६ प्रतिशत घटेर २९ करोड ४७ लाख, राष्ट्रिय वाणिज्य बैंकको ५.७० प्रतिशतले घटेर ३६ करोड ९७ लाख, एनएमबी बैंकको ५.६३ प्रतिशत घटेर ५४ करोड २० लाख, सिटिजन्स बैंकको ५.५५ प्रतिशतले घटेर ३३ करोड ४ लाख र सिद्धार्थ बैंकको २.३१ प्रतिशतले घटेर ५१ करोड ९ लाख रुपैयाँ कायम भएको हो।
विकास बैंकमा बोनस कति?
सञ्चालनमा रहेका १७ विकास बैंकले गत आवको नाफाबाट कर्मचारीलाई चालू आवमा वितरण गर्न ८४ करोड ३६ लाख रुपैयाँ बोनस छुट्ट्याएका छन्। जुन अघिल्लो आवभन्दा १४.५४ प्रतिशत कम हो।
उक्त अवधिमा कर्मचारीलाई दिने बोनस पाँच विकास बैंकको ३.१३ देखि ७६.५१ प्रतिशतसम्म वृद्धि हुँदा ७ विकास बैंकको ०.४५ देखि ७२.०३ प्रतिशतसम्मले घटेको छ। बाँकी चार बैंकको बोनस विवरण भने प्राप्त भएको छैन।
अघिल्लो आवमा वित्त कम्पनीले कूल १० करोड ५७ लाख रुपैयाँ कर्मचारीलाई बोनस छुट्ट्याएका थिए। जसमा ४.३८ प्रतिशतले घटाएर १० करोड ११ लाख रुपैयाँ गत आवको नाफाबाट वित्त कम्पनीले छुट्ट्याएका छन्।
सञ्चालनमा रहेका १७ वित्त कम्पनीमा आठको बोनस विवरण प्राप्त भएको छैन। प्राप्त तथ्यांकअनुसार उक्त अवधिमा सबैभन्दा बढी कर्मचारी बोनस गोर्खाज फाइनान्सको वृद्धि भएको छ।