काठमाडौं। काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगाेलले दूध र पानीको स्वच्छता कायम हुने गरी तत्काल काम थाल्न निर्देशन दिएकी छिन्।
खुलारूपमा बिक्री गरिने दूध र पानीको गुणस्तर नहुने भन्दै उनले कृषि तथा पशुपंक्षी विभागका अधिकारीलाई नियमित अनुगमन गर्न निर्देशन दिइसकेको जानकारी दिइन्। बजारबाट संकलन गरिएका नमुना परीक्षणका लागि कामपाले आफ्नै प्रयोगशाला सञ्चालनको तयारी गरिरहेकाले प्रभावकारी नमुनाको परीक्षणका लागि निर्देशन दिइएको डंगाेलले बताइन्उ।
'हाम्रो चाहना भनेको स्वच्छ खानेकुरा उत्पादन, ढुवानी, सञ्चय तथा बिक्री गर्नु हो। यसमा किसानदेखि व्यापारी सबैको लाभ हुने व्यवस्था मिलाउनुपर्छ,' उनले भनिन्, 'बजारलाई अस्वच्छ बनाउने र उपभोक्ताको स्वास्थ्य, मूल्य र गुणस्तरमा कहीँकतैबाट लापरबाही गर्न पाइँदैन।'
कामपा कृषि तथा पशुपंक्षी विभाग प्रमुख डा. अवधेश झाले काठमाडौंमा बेचिने दूधको ७० प्रतिशत भार खुला बेचिने दूधले धानेकाले त्यसतर्फ निगरानी बढाउनुपर्नेमा जोड दिए। 'खाद्य ऐन, २०२३ ले खाद्य पदार्थको उत्पादन, बिक्री वितरण, सञ्चय वा प्रशोधन गर्न चाहने व्यक्तिले तोकिएबमोजिम अनुज्ञापत्र लिनुपर्छ,' उनले भने, 'खुलारूपमा बेचिने खाद्यवस्तु दूषित न्यूनस्तरको हुन सक्ने कामपाको ठहर छ।'
गत आइतबार कामपाले अखाद्य पेय पदार्थ बिक्री वितरण गरेको भन्दै पुतलीसडकमा रहेको कालिञ्चोक ट्रेडिङलाई १ लाख ५० हजार रूपैयाँ जरिवाना तिराएको थियो। उपप्रमुख डंगाेलले कामपाले पछिल्लो समय बजार अनुगमन नियमित र व्यवस्थित गरिरहेको बताइन्उ। उनका अनुसार महानगरले गत साउन २८ गते निर्णय गरेर पानीपुरी, चटपटेलगायत खुला बेचिने खानेकुरा बेच्न प्रतिबन्ध लगाएको थियो।
माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थ, मासु पसल, दूध डेरी, तरकारी तथा फलफूलबाट चाँडो संक्रमण फैलिने भन्दै निगरानी बढाएको महानगरले जनाएको छ। कामपाले चालू आर्थिक वर्षमा अनुगमनलगायत स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमका लागि ९२ करोड ६६ लाख रूपैयाँ विनियोजन गरेको छ ।