काठमाडौं। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले सबै बैंकले आफ्ना कर्मचारीलाई कर्जा नोक्सानी व्यवस्था ‘एक्सपेक्टेड क्रेडिट लस’ (इसिएल) मा पोख्त बनाउन निर्देशन दिएका छन्।
डेपुटी गभर्नर मिश्रले वित्तीय संस्था संघले आयोजना गरेको नेपाल वित्तीय प्रतिवेदन मान–९ सम्बन्धी दुई दिने तालिमको समापन सत्रमा उक्त निर्देशन दिएका हुन्।
‘अब बैंकहरूले आफ्ना कर्मचारीलाई २०८०/८१ को प्रथम त्रैमासको प्रतिवेदनदेखि नै वित्तीय प्रतिवेदन मान(९ अनुसार इसिएल कायम गर्नुपर्ने भएकाले वित्तीय संस्था संघले कर्मचारीलाई पोख्त बनाउनुस्,’ डेपुटी गर्भनर मिश्रले भने।
विभिन्न सफ्टवेयरमा ठूलो धनराशी खर्च गर्नुभन्दा एक्सेललाई नै पूर्णरूपमा प्रयोग गरी कर्जा नोक्सानी व्यवस्था गणना गर्न सकिने भएकाले त्यसतर्फ लाग्न र सफ्टवेयर खरिदवापत हुने ठूलो विदेशी मुद्रा खर्च रोक्नुपर्ने उनको सुझाव थियो।
वित्तीय संस्था संघले गत साता आयोजना गरेको तालिममा विभिन्न वित्त कम्पनीमा कार्यतर ४५ भन्दा बढी विभागीय प्रमुख सहभागी थिए।
कार्यक्रममा सहआयोजकका तर्फबाट चार्टर्ड एकाउन्टेन्ट रमेश धितालले एफआरएस–९ गणना गर्न कर्जा, जोखिम, आन्तरिक लेखापरीक्षण, सूचना प्रविधि विभाग सम्मिलित समिति तत्काल गठन गरी बैंक तथा वित्तीय संस्थाले दुई वर्ष नकुरी पूर्वतयारीमा रहनुपर्ने बताए।
कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गर्भनर मिश्र, बैंक सुपरीवेक्षण विभाग प्रमुख देवकुमार ढकाल, नियमन विभाग प्रमुख डा. गुणाकर भट्ट, वित्तीय संस्था सुपरीवेक्षण विभाग प्रमुख विश्रुत थापा तथा वित्तीय संस्था सुपरीवेक्षण विभागका निर्देशक राजनविक्रम थापा सहभागी थिए।