काठमाडौं। नबिल बैंकले कम्बोडियाको सायमरिपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिसन्स एन्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एन्ड इन्ट्रडक्सन अफ न्यु सर्भिसेस्’ अवार्ड पाएको छ।
कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधि प्रयोग तथा निरन्तर अपग्रेड गरेवापत पुरस्कृत गरेको हो।
भदौ १ मा भएको कार्यक्रममा कम्पास प्लस टेक्नोलोजीका पूर्वी संयुक्त क्षेत्रीय निर्देशनालयका प्रबन्ध निर्देशक सर्गेइ पुटेनिखिनले नबिल बैंकका प्रमुख अपरेटिङ अफिसर गणेशप्रसाद अवस्थीलाई उक्त अवार्ड प्रदान गरेका हुन्।
कार्यक्रममा बंगलादेश, कम्बोडिया, मलेसिया, भारतलगायत विभिन्न देशका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।
नेपालमा ल्याएको विभिन्न नवीनतम डिजिटल बैंकिङ सेवाहरूका लागि यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाउनु हाम्रो लागि गौरवको कुरा भएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बताए।
उनले भने ‘यस अवार्डले बैंकलाई हौसला मिलेको छ भने नेपालमा अन्तर्राष्ट्रिय डिजिटल बैंकिङ सेवाहरू ल्याएर काम गर्ने थप प्रेरणा मिलेको छ। यो सम्मानले डिजिटल बैंकिङमा ग्राहकहरूको अनुभवलाई सहज बनाउन थप काम गर्न प्रोत्साहित गरेको छ।’
नबिल बैंकले नेपालमा पहिलोपटक कम्प्युटराइज्ड बैंकिङ प्रणाली भित्र्याएको थियो। नबिलले ३९ वर्ष यात्रामा बैंकिङ क्षेत्रमा नवीन तथा नयाँ प्रविधिहरू निरन्तररूपमा भित्र्याउँदै आएको पनि बताएको छ।
नबिलले एनएफसी डुअल इन्टरफेस कन्ट्याक्टलेस कार्ड, कन्ट्याक्सलेस इनबेल्ड पिओएस टर्मिनल्स, देशमा ई–कमर्स कारोबार सहज बनाउनेसहित काम गरेको छ।
यसले पेमेन्ट गेटवे लागू गर्ने, पहिलो पटक क्यास रिसायक्लर मेसिन बजारमा ल्याउने, ग्रीन पिन र कार्डलेस विथड्र सर्भिस, मोबाइल बैंकिङ एपमा कार्ड फिचरसहितको सुविधा पनि दिइरहेको छ।
नबिलले भर्चुअल कार्डको कार्यान्वयन र नेपालमा पहिलोपटक सिधै कार्डमा लोड गर्ने मोबाइल बैंकिङ सेवाजस्ता नवीनतम प्रविधिमार्फत बैंकिङ सेवा समेत दिइरहेको छ।
नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीलाई देशभरि २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ।