काठमाडौं। वित्तीय अनियमितताले समस्याग्रस्त सिभिल सेभिङ क्रेडिट सहकारी संस्था लिमिटेडमा देखिएको समस्या समाधान प्रक्रिया अघि बढेको छ।
सहकारीको समस्या समधान गर्न विशेष अधिकार प्राप्त समिति गठन हुने भएको छ। समिति गठन गर्न सिभिल सहकारीको भदौ ३० मा विशेष साधारणसभा बोलाइएको छ।
सभाले विशेष अधिकार प्राप्त समिति चयन गर्ने भएको छ। अधिकार प्राप्त समितिले संस्थाको बचत तथा लगानी गरेको ऋणलगायत सम्बन्धित दायित्व यकिन गर्ने छ। यस्तै सहकारीका ऋणीबाट उठाउनुपर्ने रकम असुल गरी समस्या समाधान गर्न आवश्यक अख्तियारी दिने भएको छ। समितिले पीडित बचतकर्ता सदस्यका बचत रकम फिर्ता गर्न आवश्यक कार्यविधि बनाउने भएको छ।
उच्च अदालत पाटनको २०७९ कात्तिक २५ को आदेशबमोजिम भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग र पीडित बचतकर्ताबीच पटक–पटक छलफल भएपछि समस्या समधानका लागि पहल अघि बढाइएको हो।
वार्षिक साधारणसभापछि सहकारीको चलअचल सम्पत्ति बेचेर पीडित बचतकर्ताको निक्षेप फिर्ता हुने भएको छ। सहकारीको नाममा सर्वसाधारणको रकम लिएर फिर्ता नगरेको आरोपमा पक्राउ परेका सिभिल सहकारीका मुख्य सञ्चालक इच्छाराज तामाङविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन छ।
२०७९ असोज २८ मा व्यवसायी इच्छाराज तामाङसहित तीनजनालाई सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा राख्न विशेष अदालतले आदेश दिएको थियो। विशेष अदालतका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेलसहितको इजलासले तामाङ, उनकी श्रीमती सिर्जना तामाङ र सिभिल सेभिङ्सका अध्यक्ष केशवलाल श्रेष्ठलाई थुनामा राख्न आदेश दिएको थियो।
तामाङ सिभिल सेभिङसका पूर्वअध्यक्ष तथा पूर्वसांसद पनि हुन्। अदालतको आदेशमा इच्छाराज, उनका श्रीमती सिर्जनलगायत अहिले पनि थुनामै छन।
जिल्ला अदालत काठमाडौंले तामाङलाई ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको थियो। तामाङलगायत ४२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो।विभागका अधिकारीका अनुसार अनुसन्धानमा तामाङ परिवारविरूद्ध ३ अर्ब २७ करोड बिगो माग गरिएको छ।
तामाङले सिभिल सहकारीबाट लिएको ऋण व्यक्तिगत सम्पत्ति आर्जनका लागि लगानी, त्यसको विस्तार र व्यक्तिगत आम्दानी बढाउन प्रयोग गरेको अनुसन्धानबाट देखिएको छ।
तामाङले आर्जन गरेको ठूलो सम्पत्ति पब्लिक सेयर र कम्पनीहरूमा ८० करोड रुपैयाँहाराहारीको सेयर देखिएको छ।
यसैगरी उनकी श्रीमती र छोरीहरूको नाममा कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटामा १५ रोपनी जग्गा फेला परेको छ। त्यहीँभित्र तामाङ आफूले थोरै जग्गा राखेको भेटिएको छ।
२०७४ सालमा उनले अंशबन्डा गरी त्यो जग्गा श्रीमती, छोरी र आफ्नो नाममा राखेको पाइएको छ। उक्त जग्गा र त्यहाँको घरकाे मात्रै हालको बजार मूल्य झन्डै १ अर्ब रुपैयाँ बढी हुन आउँछ।
अनुसन्धानमा उनका छोरीहरूले सिभिल सहकारीबाट करोडौं रकम निकालेर कारोबार गरेको देखिएको छ। बैंक मौज्दातमात्रै करिब १२ करोड रुपैयाँ देखिएको छ।
संगठित अपराध गरेको भन्दै तामाङविरुद्ध सरकारी वकिलको कार्यालयले उनीविरुद्ध आज मुद्दा दायर गरेको थियो। उनलाई नेपाल प्रहरीको केन्द्रीय अुसन्धान ब्युरोले छानबिन गरेको थियो।
संगठित अपराध र ठगी मुद्दामा मुछिएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज विरुद्धको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय ब्युरोले सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो।
प्रतिवेदनमा ८ वर्ष कैद र बिगोबराबर ५ अर्ब ५९ करोड जरिवाना माग गर्नुपर्ने सुझाव दिइएको थियो। प्रहरी अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले तामाङसहित ४२ विरुद्ध मुद्दा दायर गरेको हो। तामाङविरूद्ध ५ अर्ब ५९ करोड रुपैयाँ बिगो दाबी गरिएको छ।
तामाङलाई २०७८ असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो। सिभिल सहकारीका बचतकर्ताको उजुरीमा सिआइबीले तामाङ तथा सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई हिरासतमा राखेको छ।
१ हजार ४ सय ९९ जना पीडित बचतकर्ताबाट ५ अर्ब ६७ करोड ९ लाख ७६ हजार रुपैयाँको लिखित उजुरी परेको थियो। सहकारीमा रकम जम्मा गरेर नपाएका १ हजार ९ सयजना सम्पर्कमा आएका छन्।
इच्छाराजले विभिन्न २१ कम्पनी खडा गरी सहकारीको ८ अर्ब रुपैयाँभन्दा बढी सर्वसाधारणको बचत रकम लगानी गरेको सिआइबीको अनुसन्धानबाट खुलेको छ। यसमध्ये सिभिल होम्सलगायत तीन कम्पनीमा बढी पैसा लगानी भएको छ ।
सहकारीका बचतकर्ताले आफ्नो बचत रकमको सावाँ र ब्याज फिर्ता माग्दा नपाएपछि सिआइबीमा उजुरी हालेका थिए।