कलैया। घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक वर्ष २०७९/८० मा ८ सय ९९ घरेलु तथा साना उद्योग दर्ता गरेको छ। यसैगरी २ सय ५९ वटा साना उद्योग खारेज गरेको छ।
८ सय ९९ घरेलु तथा साना उद्योग दर्ता र ८ सय ६ वटा उद्योग नवीकरण गर्दा कूल १ करोड ३४ लाख ३५ हजार सात सय ३० रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले बताए।
गत आर्थिक वर्ष साना घरेलु उद्योग ९८, वाणिज्यतर्फ (पसल) १ सय ६१ समेत गरी २ सय ५९ वटा साना उद्योग खारेज गरिएको थियो।
चालू आर्थिक वर्ष दर्ता गरिएका उद्योगमा उत्पादनमूलक १ सय ३८ कृषि तथा वाणिज्य ४ सय ७१, सेवामूलक २ सय ८२, पर्यटन ४२, अन्य चारसमेत गरी जम्मा ८ सय ९९ उद्योग दर्ता भएका छन्।
ती उद्योगमा ४ हजार ४ सय ४४ जनाले रोजगार पाएको बताइएको छ।
हालसम्म दर्ता रहेका ८ सय ६६ वटा र नवीकरण भएका १ हजार ५८ वटा उद्योगसहित कूल १ हजार ९ सय ३४ वटा उद्योग सञ्चालनमा रहेको छ।
आव २०७८/७९ मा महिला ८ सय १० र पुरुष ९ सय ५६ उद्यमी रहेको उद्योगमा महिला ३ हजार १ सय ६८ पुरुष ७ हजार ९ सय ४६ समेत गरी ११ हजार १ सय १४ जनाले रोजगार पाएका थिए।
उक्त कार्यालयले गत आबमा ब्यूटिपार्लर, सिलाइकटाई, हाउस वायरिङ, कम्प्युटर, गलैँचा, हाते कटाइबुनाई, अगरबत्ती, बाँसको मुढा बनाउनेजस्ता सीपमूलक तालिम सञ्चालन गरेको थियो।