काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक निर्माण जिम्मा लिएको नेपाली सेनासँग छलफल गर्ने भएका छन्।
लामो समयदेखि भौतिक पूर्वाधार क्षेत्रमा काम गर्दै आएको नेपाली सेनाले पाँच आयोजना निर्माण गरिरहेको छ।
सेनाले निर्माण गरिरहेका कतिपय आयोजनाको प्रगति सन्तोषजनक नभएपछि मन्त्री ज्वालाले छलफल गर्न लागेको भौतिक मन्त्रालयले जनाएको छ।
सेनाले जिम्मा लिएको काठमाडौं–तराई/मधेस फास्ट ट्रयाकमा भनेजति काम हुन सकेको छैन भने कर्णली करिडोरमा पनि सन्तोषजनक काम भएको छैन।
‘मन्त्रीज्यूले १८ भदौमा नेपाली सेनासँग छलफल गर्ने कार्यक्रम तय गर्नुभएको छ,’ मन्त्रीका नीजि सचिव रामहरी शर्माले भने, ‘छलफलपछि मन्त्रीज्यू आफै स्थलगत भ्रमणमा पनि जाने कार्यक्रम तय भएको छ।’
सेनाले काठमाडौं–तराई/मधेस फास्ट ट्रयाक, कोशी करिडोर, गोरखा लार्के भञ्याङ, कर्णाली करिडोरको खुलालु र सल्लिसल्ला, दार्चुला टिंकर सडक निर्माण गरिरहेको छ। यी सबै ठाउँको मन्त्री ज्वालाले स्थलगत अध्ययन गर्ने कार्यक्रम रहेको सहसचिव अर्जुन थापाले बताए।
फास्ट ट्रयाकको पछिल्लो समय विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन भएको छ। डिपिआर संशोधनपछि लागत मूल्य २ अर्ब २ करोड रुपैयाँ घटेको छ भने निर्माण समय पनि घटेको छ। साथै, टनेल थपिदा बाटोको लम्बाइ पनि कम भएको छ।
मन्त्री ज्वालाले सडक विभागअन्तर्गत सञ्चालन भएका आयोजनाको ‘टायम कार्ड’ लागू गरेका छन्। तर, नेपाली सेनाले निर्माण गरेका आयोजनाको तालिका बनेको छैन। तालिका बनाउन पनि भदौ १८ गते छलफल गर्ने कार्यक्रम छ।