काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक–सामाजिक रूपान्तरण तथा देशको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र स्वाभिमानलाई रक्षा गर्ने र मुलुकको समग्र विकासमा चलचित्र क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएकी छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा मंगलबार आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार एवं सम्मान समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाली चलचित्रले यहाँको सामाजिक, सांस्कृतिक, आर्थिक समुन्नति तथा आपसी सद्भाव कायम गर्न ठूलो योगदान दिंदै आएको बताएकी हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले पूर्वको झापादेखि पश्चिम महाकालीसम्म पुग्दा धेरै संस्कृतिको जानकारी प्राप्त गर्न सकिने र यी संस्कृतिको जीवन्तता उजागर गर्दै समाज रूपान्तरण र राष्ट्रिय एकता कायम गर्नु चलचित्र क्षेत्रको महत्वपूर्ण जिम्मेवारी बताइन्।
‘चलचित्र आमसञ्चारको माध्यम भएकाले यसले सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्छ,’ मन्त्री शर्माले भनिन्, ‘चलचित्रले देशको बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय र भौगोलिक विविधतालाई पनि प्रतिनिधित्व गरेको हुन्छ। मुलुकका सबै भाषा, संस्कृति तथा जातिको संरक्षण, सम्वर्द्धन र विकासका निम्ति चलचित्रको सशक्त भूमिका रहन्छ।’
उनले नेपाली चलचित्र क्षेत्रलाई मर्यादित, व्यावसायिक बनाउन र मौलिक एवं स्तरीय नेपाली चलचित्र निर्माणमा अभिप्रेरित गर्न तथा यसको बजारीकरणमा समय सापेक्ष विकास गर्दै लैजान सबैको उत्तिकै योगदान र सकारात्मक भूमिका अपरिहार्य रहने बताइन्।
चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्दै यस क्षेत्रमा लाग्ने सबैको आर्थिक उन्नति गर्नु जरुरी रहेको उनको भनाइ छ। यसका लागि गुणस्तरीय र समाज रूपान्तरणलाई सहयोग पुर्याउने कथावस्तु, सक्षम अभिनयकला र प्राविधिक तथा निर्देशनको संयोजनबाट भरपुर मनोरञ्ज र अर्थोपार्जन गर्नेसक्ने वातावरण निर्माण गर्नुपर्ने शर्माको भनाइ छ।