काठमाडौं। भाषा परीक्षा उत्तीर्ण (पास) को नक्कली कागजात (डकुमेन्ट) बनाएर जापानमा प्रशिक्षार्थी कामदार पठाएको शंकामा वैदेशिक रोजगार विभागले २५ म्यानपावर कम्पनीविरुद्ध छानबिन प्रक्रिया अगाडि बढाएको छ।
भाषा परीक्षामा पास भएको संख्याभन्दा श्रम स्वीकृति लिने संख्या बढी देखिएपछि विभागले छानबिन समिति बनाएर अध्ययन अगाडि बढाएको हो।
विभागका सूचना अधिकारी कविराज उप्रेतीले जापानमा प्रशिक्षार्थी कामदार पठाउँदै आएका म्यानपावरमध्ये २३ देखि २५ कम्पनीमाथि छानबिन सुरु भएको जानकारी दिए।
अहिले ती म्यानपावर कम्पनीसँग जापान पठाएको संख्या विवरण सात दिनभित्र बुझाउन पत्राचार गरिएको छ। कतिले पत्र पाउनै ढिलाइ भएकाले सोमबारबाट फेरि सात दिनको म्याद थप गरिएको सूचना जारी गरेको उप्रेतीले बताए।
‘हामीले सबै कागजपत्र इमेलमा पठाएका थियौं, तीमध्ये केही म्यानपावरमा मात्र पुगेको र केहीमा इमेल आइडीको समस्याले नगएको पाइएपछि म्याद थप गरेका हौं,’ विभागका सूचना अधिकारी उप्रेतीले क्यापिटल नेपालसँग भने, ‘सोमबारमात्र ५÷७ कम्पनीले पत्र बुझेकाले सात दिनको म्याद थपेका हौं।’
विभागले जापान पठाएकामध्ये १ सयभन्दा बढी कामदारलाई भाषा परीक्षा पासको नक्कली डकुमेन्ट बनाएको शंका गरिएको छ।
विभागका निर्देशकसमेत रहेका उप्रेतीको संयोजकत्वमा छानबिन समितिसमेत बनाइसकेको छ। समितिले सबै विवरण आएको दुई साताभित्रै प्रतिवेदन तयार पारी महानिर्देशकलाई बुझाउने तयारी गरेको छ।
समितिले म्यानपावर कम्पनीसँग विवरण माग्नुका साथै भाषा परीक्षा लिने नेपाल जाइका अलुम्नाई एसोसिएसनलाई पनि गत वर्षको विवरण माग गरिएको उनले बताए।
एसोसिएसनले सन् २०१२ देखि जापानको भाषा परीक्षा लिँदै आएको छ। उसले वैदेशिक रोजगार विभागको सिफारिसमा सम्बन्धित म्यानपावर कम्पनीका कामदारलाई भाषा परीक्षा लिँदै आएको छ।
भाषा परीक्षा पास भएको सर्टिफिकेट दिएपछि मात्र सम्बन्धित म्यानपावर कम्पनीले श्रम स्वीकृति लिन पाउँछन्। जापानमा लामो समयदेखि प्रशिक्षार्थी कामदार पठाउँदै आएका एक म्यानपावर व्यवसायीका अनुसार गत वर्ष ८ देखि ९ सयहाराहारी प्रशिक्षार्थी कामदार जापान गएका थिए।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापान इन्टरनेसनल टे«निङ कोअपरेसन अर्गनाइजेसन (जिटो) सँग सम्झौता गरी औद्योगिक प्रशिक्षार्थी कामदार पठाइरहेको छ। सुरुमा नेपाल उद्योग वाणिज्य महासंघले प्रशिक्षार्थी कामदार पठाउने गरेकोमा महासंघले अपेक्षाकृत कामदार पठाउन नसकेपछि वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) मार्फत कामदार पठाउने व्यवस्था सुरु भएको थियोे। विभागका अनुसार प्रशिक्षार्थी कामदार पठाउन २ सय ५३ म्यानपावर सूचीकृत छन्।
जापानको श्रम स्वीकृति काठमाडौं उपत्यका बाहिर बन्द
भाषा परीक्षा पासको नक्कली डकुमेन्ट बनाएको शंकामा विभागले छानबिन प्रक्रिया अगाडि बढाएसँगै जापानको श्रम स्वीकृति काठमाडौं उपत्यका बाहिरबाट दिन बन्द गरिएको छ।
विभागले भदौ ५ गते पत्राचार गर्दै नेपाल जाइका अलुम्नाई एसोसिएसनबाट सञ्चालित जिटो प्रशिक्षार्थी भाषा परिक्षा पास भएका कामदारको श्रम स्वीकृतिसम्बन्धी कार्य वैदेशिक रोजगार कार्यालय ताहाचलबाट मात्र गर्ने निर्णय भदौ ४ गते भएको जानकारी गराएको छ।
यसअघि पोखरा, विराटनगर र भैरहवाबाट पनि भाषा परीक्षा पास भएकाले श्रम स्वीकृति लिन पाउँथे। म्यानपावर कम्पनीले उपत्यका बाहिरका श्रम कार्यालयबाट भाषा परीक्षा पासको नक्कली डकुमेन्ट बनाएको शंका गर्दै छानबिन प्रक्रिया नसक्दासम्म श्रम स्वीकृति दिने काम बन्द गरिएको जनाएको छ।