काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले होटल र पर्यटन क्षेत्रलाई उद्योगको मान्यता दिन सरकारसँग ‘लबिङ’ सुरु गरेको छ।
महासंघ पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवसँग भेटेर उद्योगको मान्यता दिन लबिङ सुरु गरेको हो।
होटल एसोसिएसन नेपाल ९हान० ले लामो समयदेखि सरकारलाई होटल तथा पर्यटन क्षेत्रलाई उद्योगको मान्यता दिन अनुरोध गरे पनि बेवास्ता गरिरहेको बेला महासंघले नेतृत्व लिएर सरकारलाई दबाब बढाएको हो। अर्बौं लगानी हुने होटल क्षेत्रलाई अहिले सरकारले सेवा क्षेत्रको मान्यता दिँदै आएको छ।
होटल तथा पर्यटन व्यवसायीले भने आफूहरूले अर्बौं लगानी गरेर लाखौंलाई रोजगारी दिइरहेको र विदेशी डलर भित्र्याएर सरकारलाई प्रत्यक्ष सहयोग गरिरहेको अवस्थामा समेत सरकारले उद्योगको मान्यता नदिएर बेवास्ता गरेको गुनासो गरिरहेका छन्।
समिति सभापति बस्नेतले पर्यटन व्यवसायीको उचित माग सम्बोधन गर्न उद्योग र पर्यटन मन्त्रालय सकारात्मक रहेको बताए। उद्योग सचिव मुकुन्दप्रसाद निरौला र पर्यटन सचिव भरतमणि सुवेदीलाई सामूहिकरूपमा भेट गरी फिटा ऐन संशोधन र उद्योगको मान्यता दिलाउन गरिएको आग्रह सकारात्मक लिएको उनले बताए।
हानका अध्यक्ष विनायक शाह र महासंघ उपाध्यक्ष हेमराज ढकालसहितको नेतृत्वमा गएको टोलीले उद्योग सचिव निरौलालाई दिगो पर्यटन र हरित पर्यटन सम्बन्धमा विशेष योगदान पुर्याउन यस क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुनाले यस क्षेत्रलाई विद्युत सहुलियत दर रेट, करमा विशेष छुट, विद्युत खपत नियमावलीमा समेत होटल उद्योगलाई विशेष विद्युत महसुल कायम गराई उद्योगसरह सुविधा उपलब्ध गराउनुपर्ने माग अघि सारेका छन्।
उद्योगको मान्यता दिन सरोकारवाला निकायसँग केही दिनभित्रै छलफल गरी निचोडमा पुग्ने आश्वासन दिएको बस्नेतले बताए। योसँगै फिटा ऐनमा आएको ५ प्रतिशतभन्दा बढी रोयल्टी लैजान नपाउने नियम पनि संशोधनका लागि छलफल अगाडि बढाउने प्रतिबद्धता जनाएको बताए।
अन्य मुलुकमा कहीँ पनि नभए नियम नेपालमा रोयल्टीसम्बन्धी ल्याएकाले चेन होटल आउनु नै समस्या हुने भएकाले यसलाई तत्कालै संशोधन गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ। ‘हामीले राखेको दुवै मागमा सकारात्मक हुनुहुन्छ,’ सभापति बस्नेतले भने।