काठमाडौं । सबै रोजगारदाता र योगदानकर्ता सामाजिक सुरक्षा कोषमा दर्ता हुन नआएपछि पुनः समय थपिने भएको छ । कोषले गत कार्तिक १४ गते १ महिनाका लागि दर्ता हुन समय थपेको थियो ।
सो समय हिजो( शनिबार) सकिएको छ । कोषले यो दोस्रो पटक समय थप्न तयारी गरेको हो । यद्यपी औपचारिक रुपमा घोषणा भने गरेको छैन ।
कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एक महिनामा पनि रोजगारदाता र कर्मचारी नआएपछि समय थप गर्ने विषयमा छलफल भइरहेको बताए ।
‘समय सकिए पनि दर्ता हुन बाटो खुल्ला छ ।’ उनले भने । दोस्रो पटकको समय कहिले थपिन्छ भन्ने निर्णय नभएको उनले जानकारी दिए ।
कोषले यसअघि थपेको एक महिनासम्मको समय सकिँदा पनि सबै रोजगारदाता र योगदानकर्ता कोषमा दर्ता हुन आएका छैनन् ।
कोषका अनुसार हालसम्म १० हजार ४७७ रोजगारदाता र १ लाख १५ हजार ६०६ जना योगदानकर्ता आवद्ध भएका छन् । कोषले हालसम्म ६९ जिल्लालाई सूचीकरणमा समेटेको छ । कोषका अनुसार १८ करोड १३ लाख २ हजार ७८१ रुपैयाँ योगदान रकम संकलन भएको छ ।
कोषका केही नीतिगत व्यवस्था विभेदकारी भएको भन्दै रोजगारदाता तथा योगदानकर्ता कोषमा दर्ता हुन आउन मानिरहेका छैनन् । हालसम्म वाणिज्य बैंकहरुमा जम्मा ७ वटा मात्रै कोषमा आवद्ध भएका छन् ।
निवर्तमान श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले भेटेर कोषमा १ हप्ताभित्र जान बैंकहरुलाई अनुरोध गरेका थिए । तर पनि बैंकहरु अझै विश्वस्त हुन सकेका छैनन । कोषको योजनादेखि असन्तुष्ठ भएर साना तथा ठुला व्यवसायिक प्रतिष्ठान दर्ता हुन इच्छा देखाएका छैनन ।
वाणिज्य बैंक मात्रै होइन, अझै कयौँ संघ संस्था तथा कम्पनीहरु कोषमा आउन आनाकानी गरिरहेका छन् । कोषले यसवर्ष निजी सङ्गठित संस्था तथा त्यहाँ कार्यरत कर्मचारीबाट योगदान रकम ४० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।
गत वर्ष साउन १ गतेदेखि सामाजिक सुरक्षा योजना पूर्णरुपमा कार्यान्वयनमा आएको हो । यही असोज मसान्तभित्र सम्पूर्ण रोजगारदाता र आफूसँग श्रम सम्बन्ध कायम गरेका श्रमिकलाई कोषमा सूचीकृत गराउनुपर्ने व्यवस्था छ ।
कोषले संकलित योादान रकम लगानी गर्न योजना तयार गर्दै छ । जलविद्युत् यातायातलगायत पूर्वाधार, पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने कोषको तयारी छ ।