काठमाडौं। नेपाल ट्रक व्यवसायी महासंघले भारतीय गाडीमा रोक लगाउनुपर्ने माग गरेको छ।
नेपालमा रहेका मालवाहक गाडी यहाँको आवश्यकता परिपूर्ति गर्न पर्याप्तमात्र नभई नेपाली गाडीले काम नपाउने स्थिति सिर्जना भएकाले निर्वाध आउने भारतीय गाडीमाथि स्थायी ढंगबाट रोक लगाउन व्यवसायीले माग गरेका हुन्।
सरकारको उदासिनताका कारण ट्रक व्यवसायी आफ्नो पेसाबाटै विस्थापित हुने अवस्था अएको महासंघ महासचिव राजेन्द्रविक्रम बानियाँले बताए।
‘मुलुकको मालवाहक यातायातको झन्डै सतप्रतिशत जिम्मेवारी ट्रक यातायात व्यवसायबाट निर्वाह हुँदै आएको सन्दर्भमा यातायात क्षेत्रमा रहेका विद्यमान समस्याको यथोचित समाधान गरी सिंगो यातायात क्षेत्र व्यवस्थित, भरपर्दो, सुविधाजनक उपभोक्तामैत्री र व्यवसायमुखी बनाउनुपर्छ,’ उनले भने।
ट्रक पार्किङस्थल व्यवस्थापन, निर्धारित भाडा दर कार्यान्वयन, सहज ढंगले दुर्घटना निकासको सुनिश्चितता, घाइतेको उपचार व्यवस्था, कानुनसम्मत भारवहन कार्यान्वयन सुनिश्चतता, राहतजन्य कार्य व्यवस्थापन, बिमा व्यवस्थाको पूर्णकार्यान्वयन, ऐनमा संशोधनलगायत कार्यमा सरकार चुकिरहेको उनले बताए।