काठमाडौं। प्रस्तावित ६ सय ३५ मेगावाटको दुधकोसी जलाशय आयोजनामा लगानी जुटाउन अन्तर्राष्ट्रिय ऋणदाताको बैठक बस्ने भएको छ।
ऋणदाता बैठकमा एसियाली विकास बैंक (एडिबी), युरोपियन इन्भेस्टमेन्ट बैंक (इआइबी) लगायत नेपाली बैंकहरूको पनि सहभागिता रहने छ।
ऋणदाता बैंकसँग बैठक गर्न विकासकर्ता दुधकोसी जलविद्युत कम्पनी लिमिटेडले प्रक्रिया अघि बढाएको छ। दसैंअघि नै ऋणदाता बैठक राखेर लगानी जुटाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विमल गुरुङले बताए।
ऋणदाता बैठकपछि मात्र दुधकोसी जलासयमा लगानीको खाका (मोडेल) टुंगिने उनले जानकारी दिए। आयोजनामा लगानी गर्न एडिबी र इआइबीले प्रतिबद्धता जनाइसकेको उनले बताए। परियोजनामा अन्य बैंक तथा वित्तीय संस्था पनि जोडिने सम्भावना छ।
सिइओ गुरुङका अनुसार आयोजना उन्नत चरण (एडभान्स स्टेज) मा छ। एडिबीले ५२ करोड र इआइबीले ५० करोड अमेरिकी डलर ऋण दिने सम्भावना छ।
दुधकोसी जलाशय बनाउन निर्माण अवधिको ब्याजसहित २ खर्ब २५ अर्ब (२ अर्ब २० करोड डलर) चाहिने कम्पनीले गरेको विस्तृत इन्जिनियरिङ अध्ययनले देखाएको छ।
चालू आर्थिक वर्षभित्रै आयोजनाको सिभिल निर्माणको काम सुरु हुने लक्ष्य छ। लगानी जुटाउन, नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) र विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) गर्न बाँकी रहेकाले चालू वर्ष आयोजनाको काम सुरु हुने सम्भावना न्यून छ।
यसअघि सरकारले दुधकोसीमा लगानीका लागि औपचारिकरूपमा एडिबीलाई आग्रह गरिसकेको छ।
आयोजनामा एडिबीका अतिरिक्त जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), एसियन इन्फ्रास्ट्रक्चर बैंक (एआइआइबी) र युरोपियन इन्भेस्टमेन्ट बैंकसँग लगानीका लागि कुरा भइरहेको छ। यसअघि अर्थ मन्त्रालयले ती दातृ निकायलाई लगानी गर्न पत्राचार गरेको थियो।
दुधकोसी जलाशय मिश्रित लगानी (ब्लेन्डेड फाइनान्सियल) मा बनाउने तयारी भएको छ। आयोजनामा एडिबीले अगुवाइ गर्ने प्रारम्भिक सहमति भएको छ।
एडिबीकै अनुदानमा आयोजनाको विस्तृत डिजाइनको काम सकिएको छ। आयोजनाको अद्यावधिक सम्भाव्यता अध्ययन र डिटेल डिजाइनको काम इएलसी इलेक्ट्रो कन्सल्टले गरेको हो।
सरकारले आर्थिक वर्ष २०७७/७८ देखि दुधकोसीलाई प्राथमिकतामा राख्दै लगानी जुटाएर निर्माण थाल्ने घोषणा गरेको थियो। जाइकाले पहिचान गरेका १० उत्कृष्ट जलाशययुक्त जलविद्युत आयोजनामध्ये सरकारले दुधकोसीलाई पहिलो प्राथमिकतामा राखेको छ।
लागत र ऊर्जा उत्पादनका आधारमा दुधकोसी तुलनात्मक सस्तो र आकर्षक भएकाले आर्थिकरूपमा लगानीयोग्य भएको जानकारी सरकारले एडिबीलगायत दातृ निकायलाई दिइसकेको छ।
आयोजनाबाट वार्षिक ३ अर्ब ४४ करोड २० लाख युनिट बिजुली उत्पादन हुनेछ। त्यसमध्ये हिउँदमा १ अर्ब ३५ करोड ८० लाख र बर्खामा २ अर्ब ८ करोड ४० लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। उत्पादित बिजुली प्रस्तावित सुनकोसी–ढल्केबर ४ सय केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ।
आयोजनाको बाँध क्रंकिट फेस रकफिल ड्याम हुनेछ। आयोजनाको बाँध २ सय २० मिटर अग्लो बनाउने प्रस्ताव गरिएको छ। बाँधको लम्बाइ ६ सय ३० मिटर हुनेछ। आयोजनाको जडित क्षमता ६ सय ३५ मेगावाट भए पनि ३५ मेगावाट ड्याम टोइबाट उत्पादन हुनेछ। आयोजनाको जलासय कुलेखानीभन्दा २२ र निर्माणाधीन तनहुँभन्दा सात गुणा ठूलो हुनेछ।
आयोजनाबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको ३ हजार ८ सय ७६ हेक्टर जमिन प्रभावित हुनेछ। जलाशययुक्त आयोजना भए पनि विस्थापित हुने घरधुरी तुलनात्मकरूपमा कम छन्।
१ सय ६२ घरपरिवारमात्र पूर्णविस्थापित हुने र ९ सय ८८ परिवार आंशिक प्रभावित हुनेछन्। यस्तै १ हजार ५० घरपरिवारको खेतीयोग्य जमिन डुबानमा पर्ने छ।
आयोजनाका लागि २ सय २० मिटर अग्लो बाँध निर्माण गरी दुधकोसी नदीमा १७ किलोमिटर, रावा खोलामा आठ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर लामो जलाशय बनाइने प्रस्ताव छ। यस्तै १३.३० किलोमिटर लामो सुरुङ हुनेछ। आयोजनास्थलसम्म पुग्ने पहुँच सडक लगभग तयारी अवस्थामा छ।
उत्पादित बिजुली प्रस्तावित सुनकोसी–ढल्केबर ४ सय केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ। सुक्खा र पिकआवरको विद्युत माग पूरा गर्न जलाशय आयोजना आवश्यक पर्ने भएपछि सरकारले दुधकोसी अघि बढाएको हो।
जलशाययुक्त जलविद्युत आयोजनाका लागि पनि आवश्यक जग्गा व्यवस्था गर्न अधिग्रहण सुरु भएको छ। खोटाङ रावाबेँसी–३ लामिडाँडा र ओखलढुंगा चिसंखुगढी–६ भदौरेको सिमानामा पर्ने दुधकोसी नदीस्थित रभुँवाघाटबाट ५ हजार ८ सय २६ कित्ता जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको थियो। आयोजनाका लागि खोटाङमा करिब १३ हजार रोपनी जग्गा आवश्यक पर्ने छ।
यसमध्ये १ हजार रोपनी सरकारी र १२ हजार रोपनी व्यक्तिका नाममा छ। व्यक्तिगत जग्गा आयोजनाका नाममा ल्याउने प्रक्रिया अघि बढिसकेको छ। ओखलढुंगाको ७ हजार रोपनी र सोलुखुम्बुको ५ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ। ओखलढुंगा र सोलुखुम्बुको जग्गाको भने स्रेस्ता उतार्ने काम भइसकेको छ।