काठमाडौं। मलेसिया जाने नेपालीहरुलाई ई–भिसा स्टाम्पिङका लागि १४ ट्राभल एजेन्सीले अनुमति पाएका छन्। यसअघि सीमित एजेन्सीबाट मात्र भिसा स्ट्याम्पिङ हुदै आएकोमा अब १४ वटा ट्राभल कम्पनीमार्फत ई–भिसा लिन पाइने भएको हो।
नेपालमा रहेको मलेसियन राजदूतावासले रोजगारी, अध्ययन र पर्यटक भिसामा जानेहरुले भिसा स्ट्याम्पिङका लागि तोकिएको १४ वटा ट्राभल एजेन्सीमार्फत प्रक्रिया गर्ने सक्ने जनाएको छ।
दूतावासको पछिल्लो अद्यावद्यिक तथ्यांकअनुसार हेल्लो ट्राभल, इन्द्र ट्राभल एण्ड टुर्स, निम्बस ग्लोबल ट्राभल एण्ड टुर्स, सांङग्रिला भोयागेस प्रालि, युग ट्राभल, राजदुत ट्राभल एण्ड टुर्स, काब्या इन्टरनेशनल टुर्स, फाष्ट ट्रायाक ट्राभल एण्ड टुर्स, रोशी टुर्स एण्ड ट्राभल, हाइभ्यू ट्राभल एण्ड टुर्स, आरोहण गोल्ड ट्राभल एण्ड टुर्स, ग्लोबल ट्राभल म्यानेजमेन्ट र एआरआर एण्ड टुर्सले पाएका छन्।
मलेसियन दुतावासले सार्वजनिक गरेको सूचीअनुसार अब ती एजेन्सीहरु म्यानपावर कम्पनीमा धाउनु पर्ने बाध्यता सिर्जना भएको छ। ‘यसअघि एक मात्र संस्था हुदा म्यानपावर कम्पनीहरु धाउनु पर्ने र अनेकौं उपाय लगाउनुपर्ने स्थिति थियो,’ वैदेशिक रोजगार संघका एक पदाधिकारीले क्यापिटल नेपालसँग भने, ‘अब १४ वटा एजेन्सीमा छान्ने अधिकार हाम्रो भयो।’
भिसा स्टाम्पिङका लागि ७ हजार ६४ रुपैया तिर्नुपर्छ। कामदारको हकमा भने श्रम सम्झौताअनुसार म्यानपावर कम्पनीले नै सो रकम तिर्नुपर्ने हुन्छ। म्यानपावर कम्पनीलाई रोजगारदाता कम्पनीले सो रकम पठाइदिएको हुन्छ र भिसा स्टाम्पिङको लागि रोजगारदाता कम्पनीले म्यानपावरको खातामा पैसा पठाइदिन्छ।
६ महिनाअघि मलेसिया सरकारले भिसा स्टाम्पिङका लागि नेपालका एजेन्सीहरुलाई आव्हान गरेको थियो।