काठमाडौं। नेपाल राष्ट्र बैंकले औचित्य र आवश्यकताका आधारमा पटक–पटक चालू पुँजी कर्जा लिन पाउने व्यवस्था गरेको छ।
केन्द्रीय बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै ऋणीलाई थप कर्जा व्यवस्था गरेको हो।
केन्द्रीय बैंकले ४० प्रतिशतसम्म चालू पुँजी कर्जा लिन पाइने व्यवस्थासमेत गरेको छ। बैंक तथा वित्तीय संस्थाले अधिकतम चालू पुँजी आवश्यकताको ४० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्था गरेको हो। यस्तो सीमा यसअघि अधिकतम २५ प्रतिशत थियो।
अब भने उद्यम–व्यवसायको अपरेटिङ साइकल, क्यास कन्भर्जन साइकल, डेज सेल्स आउट स्टयान्डिङ, इन्भेन्टरी कन्भर्जन पिरियड, लिड टाइम र एकाउन्ट्स पेयबल पिरियड विश्लेषण गर्दा औचित्यपूर्ण देखिए बैंक तथा वित्तीय संस्थाले एक वर्षका लागि वार्षिक कारोबारको अधिकतम ४० प्रतिशतसम्म कूल चालू पुँजी कर्जा सीमा कायम गर्न सक्नेछन्।
यस्तै राष्ट्र बैंकले औचित्य र आवश्यकताका आधारमा ऋणीले एक वर्षमा दुईपटक थप चालू पुँजी कर्जा लिन पाउने व्यवस्था गरेको छ। ऋणीको व्यवसायसँग सम्बन्धित कुनै प्रयोजनका लागि अप्रत्यासित वित्तीय स्रोतको आवश्यकता भए सम्बन्धित प्रयोजनमा सोझै रकमान्तर हुने गरी आकस्मिक प्रकृतिको थप चालू पुँजी कर्जा प्रदान गर्न मिल्ने व्यवस्था गरिएको हो।
यस्तो थप कर्जा सिजनल व्यवसायलाई समेत जस्तै, रासायनिक मल खरिद, चाडपर्वसँग सम्बन्धित व्यापार आदिमा औचित्यका आधारमा प्रवाह गर्न सकिने भएको छ। यस्तो कर्जा नवीकरण भएको वा उद्देश्यबमोजिम प्रयोग भएको नपाइए उक्त कर्जालाई खराब वर्गमा वर्गीकरण गरी सतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्छ।