काठमाडौं। निजी लगानीमा स्थापना भएको टाइम्स इनर्जी प्रालिले बुढीगण्डकी अर्धजलाशय जलविद्युत आयोजना बनाउने भएको छ। आयोजनाको जडित क्षमता ३ सय ४१ मेगावाट छ।
टाइम्सलाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिन जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयले प्रक्रिया अघि बढाएको छ।
कम्पनीले ३५ दिनपछि विद्युत उत्पादन लाइसेन्स पाउने छ। टाइम्सले आयोजनाको अध्ययन सम्पन्न गरेर विद्युत उतपादन लाइसेन्स मागेपछि मन्त्रालयले प्रक्रिया अघि बढाएको हो।
आयोजनाबाट आउँदो २०८५ देखि विद्युत उत्पादन प्रस्ताव गरिएको छ। नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) र लगानी व्यवस्थापनको काम बाँकी छ।
अर्धजलाशय आयोजनाबाट वार्षिक १ अर्ब ८३ करोड ७१ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। आयोजनाको डिजाइन बहाब १ सय घनमिटर प्रतिसेकेन्ड छ। कूल हेड ३ सय ९८ मिटर रहने टाइम्सले जनाएको छ।
सुक्खायाममा पनि आयोजना दैनिक ५ घन्टा पूर्णक्षमतामा सञ्चालन गर्न सकिने छ। दैनिक ५ घन्टा पिकिङ हुने गरी आयोजना डिजाइन गरिएको छ।
आयोजनाको मुख्य संरचना बुढीगण्डकी नदीको दायाँ किनारमा प्रस्ताव गरिएको छ। बुढीगण्डकीमा बाँध बाँधी नदीको दायाँपट्टि निर्माण हुने इन्टेकबाट पानी फर्काइ मुख्य संरचनाबाट भूमिगत सुरुङमा लगिने छ।
बिजुली उत्पादनका लागि बनाइने बाँधको लम्बाइ ५४ मिटर हुनेछ। बाँधमा १७ लाख घनमिटर पानी सञ्चय गर्न सकिने छ। बाँधको उचाइ ३८ मिटर हुनेछ।
विद्युतगृहमा ५७ मेगावाट क्षमताका ६ वटा भर्टिकल एक्सेस पेल्टर्न टर्बाइन जडान गरिने छ। आयोजनाबाट उत्पादन हुने बिजुली २ सय २० केभी प्रसारण लाइन हुँदै ४५ किलोमिटर दुरीमा रहेको नुवाकोटमा बन्ने ४ सय केभी क्षमताको रातमाटे सबस्टेसनमा समाहित हनेछ। यो सबस्टेसन `मिलेनियम च्यालेन्ज कर्पोरेसन´ (एमसिसी) ले बनाउन लागेको हो।
कम्पनीले गेको वातावरणीय प्रभाव मूल्यांकनअनुसार जीवजन्तु र जलचरका लागि नदीमा पानी छाड्ने प्रस्ताव गरिएको छ।
आयोजना गण्डकी प्रदेश गोरखा जिल्ला चुमनब्री र धार्चे गाउँपालिकामा पर्छ। टाइम्स इनर्जी २०६७ मा स्थापना भएको थियाे।