काठमाडौं। सिद्धार्थ हस्पिटालिटीले चितवन सौराहामा लक्जरी रिसोर्ट ‘सिद्धार्थ विलासा वन्वास’ रिसोर्ट लगानीसहितको व्यवस्थापन गर्ने भएको छ।
१ अर्ब लगानीमा निर्माण भइरहेको रिसोर्ट दसैं अगाडि सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए। यो रिसोर्ट सिद्धार्थ ग्रुपको लक्जरी ब्रान्ड हो।
सिद्धार्थ विलासा वनवास रिसोर्ट स्थानीय व्यवसायी बासु ढुंगानाले निर्माण गरेका हुन्। रिसोर्टका २२ भिल्लामा ३४ कोठा छन्। चार बिघा क्षेत्रफल ओगटेको रिसोर्टमा ’बर्ड वाचिङ थिम’ लाई प्राथमिकता दिइएको र कोठाहरू चराको नामबाट राखिएको न्यौपानेले बताए।
रिसोर्ट आउने पाहुनाले परिसरकै तलाउमा ‘फिसिङ’ गर्न सक्नेछन् भने सौराहाको हात्तीसार नजिकै भएकाले कोठाबाटै हात्ती देख्न सकिने छ।
चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको रिसोर्टले जिप सफारी, हात्ती सफारी, बोट सफारीलगायत गतिविधि पनि गराउने छ। रिसोर्टमा स्विमिङ पुल, मसाजसहित स्पा पनि रहने छ।
यसअघि ग्रुपले आफ्नो २५औं वर्षगाँठ पारेर भैरहवामा साढे २ अर्ब रुपैयाँ लगानीमा आफ्नो पहिलो पाँचतारे होटल सिद्धार्थ विलासा सञ्चालनमा ल्याएको थियो। भैरहवा अञ्चलपुरमा रहेको उक्त होटल करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० कृष्ण न्यौपानेले जानकारी दिए।
सिद्धार्थ हस्पिटालिटीले जुम्ला र इलाममा ‘एग्रो टुरिज्म थिम’ मा लक्जरी रिसोर्ट निर्माण तयारी गरिरहेको छ। जसअनुसार जुम्लामा स्याउ बगानसहितको लक्जरी रिसोर्ट र इलामको चिया बगानभित्र लक्जरी रिसोर्ट निर्माण तयारी गरेको न्यौपानेले जानकारी दिए।
ग्रुपले नेपालगन्ज र सुर्खेतमा चारतारे सिद्धार्थ होटल तथा चन्द्रौटामा लक्जरी रिसोर्ट सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट सञ्चालन गरिरहेको छ। चिसापानीमा सिद्धार्थ रिसोर्ट र पृथ्वी राजमार्गको चुम्लिङटारमा सिद्धार्थ रिभरसाइड रिसोर्ट पनि छ।
बौद्धको सिद्धार्थ बुटिक होटल, बिर्तामोडको चारतारे सिद्धार्थ होटल ग्रान्ड सिटी, नुवाकोटको सिद्धार्थ होटल वाटर टावर, टिकापुरको होटल सिद्धार्थ, सुन्धाराको होटल सिद्धार्थ यसै ग्रुपअन्तर्गतका होटल हुन्।
बुटवल, नेपालगन्ज, तीनकुने, धोबिघाट र पुरानो बानेश्वरमा सिद्धार्थ कटेज सञ्चालनमा छन्। ग्रुपले महाराजगन्जमा दुई तथा तीनकुने र नेपालगन्जमा एक/एक गरी एस क्याफेका चार आउटलेट सञ्चालनमा ल्याएको छ। सिद्धार्थ हस्पिटालिटीमा २ हजार बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।