काठमाडौं। २०७८ चैत २४ मा बागमती प्रदेश सरकारले वैशाख १ बाट लागू हुने गरी ट्याक्सी भाडा समायोजन गर्याे।
सरकारले पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीका हकमा ‘फ्ल्याग डाउन’ ५० रुपैयाँ, प्रति २ सय मिटरमा १० रुपैयाँ, प्रतीक्षा शुल्क प्रति १ मिनेट १ रुपैयाँ २० पैसा र प्रतीक्षा गर्ने अधिकतम समय ३० मिनेट कायम गरेको थियो।
यस्तै रात्रिकालीन सेवा दिने ट्याक्सीका हकमा बेलुका ९ देखि बिहान ४ सम्म फ्ल्याग डाउन यथावत राखी प्रति २ सय मिटरमा १५ रुपैयाँ कायम गरेको थियो।
सरकारले वैशाख १ बाट नयाँ भाडा दर लागू गर्ने निर्णय गरे पनि सबै ट्याक्सीले नयाँ भाडा दरअनुसार पैसा लिन पाएनन्। मिटरमा नयाँ भाडा ‘अपडेट’ (अद्यावधिक) गर्नै आठ महिनासम्म पर्खनुपरेको ट्याक्सी चालकको गुनासो छ।
मिटर अपडेट गर्न गुणस्तर तथा नापतौल कार्यालय जानुपर्छ। कार्यालयले दैनिक अधिकतम ७० भन्दा धेरै मिटर अपडेट गर्न सक्दैन।
श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीको भदौ ४ मा बसेको मन्त्रीस्तरीय बैठकले साउन ७ देखि लागू हुने गरी फेरी ट्याक्सी भाडा समायोजन गर्याे।
यसपटक फ्ल्याग डाउन ५२ रुपैयाँ कायम गरियो भने प्रति २ सय मिटर भाडा दर १० बाट बढाएर १० रुपैयाँ ३४ पैसा बनाइएको छ। त्यस्तै प्रतिक्षा शुल्क पनि १.२० मिनेटबाट बढाएर १ रुपैयाँ २४ पैसा बनाइएको छ।
त्यसैगरी रात्रिकालीन ट्याक्सी सेवा भाडा दर फ्ल्याग डाउन ५२ रुपैयाँ यथावत राखी बेलुका ९ देखि बिहान ४ बजेसम्म प्रति २ सय मिटरको १५ रुपैयाँ ५२ पैसा बनाइएको छ।
सरकारले भाडा समायोजन गरे पनि सबै ट्याक्सीको मिटर अपडेट गर्न फेरि महिनौं पर्खिनुपर्ने भएको छ। गुणस्तर तथा नापतौल कार्यालयका अनुसार दैनिक अधिकतम ७० ट्याक्सीमा मात्र अपडेट गर्न सकिन्छ। यो हिसाबले उपत्यकामा सञ्चालित १२ हजार ट्याक्सीको मिटर अपडेट गर्न करिब ६ महिना लाग्छ।
ट्याक्सीको मिटर पुरानो प्रविधिको भएका कारण ट्याक्सी व्यवसायीले सधैं सास्ती खेप्नुपरेको बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका अध्यक्ष दीपक नेपाल बताउँछन्।
‘पहिलो कुरो त यो भाडा दर समायोजन वैज्ञानिक ढंगले गरिएको छैन। वैज्ञानिकरूपमा स्वचालित भाडा दर भएको खण्डमा पनि मिटर अपडेट गर्न नै महिनौं पर्खिनुपर्ने बाध्यता छ,’ उनले भने, ‘महिनांै पर्खिएर अपडेट गरेपछि फेरि पेट्रोलको भाउ घटबढ भएर भाडा समायोजन भयो भने मिटर समायोजन गर्न कति पर्खिने?’
मिटर अपडेट गर्न कुनै सहज तरिका अपनाउनुपर्ने नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव दिलीपकुमार श्रेष्ठ बताउँछन्।
‘एक क्लिकका भरमा सबै ट्याक्सीको मिटर भाडा समायोजन हुने संयन्त्र बनाउनुपर्छ। यसो नभए ट्याक्सीमा वैज्ञानिक स्वचालित भाडा समायोजन गर्न सकिँदैन,’ उनले भने, ‘इन्धन भाउ घटबढ हुनेबित्तिकै भाडा समायोजन हुँदा मिटर अपडेट गर्न चाहिँ कति झन्झट बेहोर्नु?’
मिटर अपडेटका नाममा व्यवसायीलाई नयाँ प्रविधिको मिटर किन्न लगाएर आर्थिक भार भने थप्न नहुने उनको तर्क छ।
‘केही वर्षअघि हामीलाई बिलिङ मिटर राख्न लगाउँदा व्यवसायीले १८ देखि ३५ हजारसम्म खर्च गर्नुप¥यो। त्यही मिटरलाई कुनै सफ्टवेयर वा चिप प्रयोगले स्वचालित अपडेट हुने व्यवस्था मिलाउन सके राम्रो हुन्छ,’ उनले भने।
सरकारले अहिले निर्धारण गरेको भाडा पनि अवैज्ञानिक भएको उनको आरोप छ। ‘पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३६ हुँदा निर्धारण गरेको भाडामा १ सय ७८ हुँदा फ्ल्याग डाउनमा २ रुपैयाँ र प्रतिमिटर ३४ पैसा बढाएर हुन्छ?,’ उनको प्रश्न छ।
मिटर संरचनाका कारण अपडेट गर्न केही ढिलाइ हुने गरेको गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंका सूचना अधिकारी निराजन पुडासैनीले बताए।
‘एउटा मिटर रोलिङ गर्न एक किलोमिटर घुमाउनुपर्छ। त्यसकारण हामीले दैनिक अधिकतम ७० मात्र ट्याक्सीको मिटर समायोजन गर्न सक्छौं,’ उनले भने, ‘एकैपटक सबै ट्याक्सीका मिटर अपडेट गर्ने संरचना हामीसँग छैन।’