काठमाडौं। बालाजु नयाँ बसपार्कस्थित ल्होत्से मलमा ‘क्राफ्ट क्याफे’ सञ्चालनमा आएको छ। उत्कृष्ट डिजाइन र स्वादिष्ट परिकारसाथ सञ्चालनमा आएको क्याफेलाई ‘चेन’ का रूपमा विस्तार गर्ने योजनासमेत रहेको सञ्चालिका आकृति कुँवरले बताइन्।
५६ सिट क्षमताको क्याफेमा कफीसँगै कन्टिनेन्टल खानाको पनि व्यवस्था गर्न लागिएको उनको भनाइ छ। ल्होत्से मल र नयाँ बसपार्क क्षेत्रमा आउनेलाई उत्कृष्ट गन्तव्य बनाउने योजनासाथ क्याफे सञ्चालन गरिएको आकृतिको भनाइ छ।
क्राफ्ट क्याफे स्वीजरल्यान्डको चर्चित चेन क्याफे हो। आकृतिले पनि त्यहाँ अध्ययन गर्ने क्रममा धेरैपटक क्राफ्टमा गएकाले नेपालमा सञ्चालन गर्ने क्याफेको नाम नै त्यही राखिएको बताइन्।
स्वीजरल्यान्डको चेन क्याफे भने क्राफ्ट नभएको उनको भनाइ छ। नाम धेरै मन परेकाले आफ्नो क्याफेको नाम त्यही राखेको बताउँदै यसलाई काठमाडौंका विभिन्न क्षेत्रमा चेनका रूपमा विस्तार गर्ने योजना रहेको बताइन्।
पछिल्लो समय क्याफे गएर लामो समय बिताउन चाहनेको संख्या अधिक रहेकाले त्यहीखालको वातावरण क्राफ्टले दिने उनको दाबी छ। क्राफ्टमा राखिएका खाना धेरै महँगो पनि छैन। सबै वर्ग र उमेर समूह केन्द्रित गरेर त्यही खालको मेनु बनाइएको छ।
नयाँ बसपार्कबाट विभिन्न गन्तव्य जानेलाई गाडी पर्खिंदा समय बिताउनेदेखि मलमा सपिङ गर्न आउनेलाई समेत ध्यानमा राखेर मेनु डिजाइन गरिएको उनले बताइन्।
क्राफ्टसँगै अर्को नयाँ रेस्टुरेन्ट पनि तयारी अवस्थामा छ। करिब १ सय सिट क्षमताको उक्त रेस्टुरेन्टमा भने मिटिङ हल पनि छ। रेस्टुरेन्ट भने केही समयपछि सञ्चालनमा ल्याउने कुँवरको भनाइ छ।
आकृति ल्होत्से मल र नयाँ बसपार्क व्यवस्थापन गर्दै आएका दीपक कुँवरकी छोरी हुन्। आकृतिले ल्होत्से मलमै एक्सप्रेस सुपरमार्केट समेत सञ्चालन गरिरहेकी छिन्।