काठमाडौं। निजी क्षेत्रबाट स्थापना भएको स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले १ सय २८ मेगावाटको तमोर–मेवा जलविद्युत आयोजना बनाउने भएको छ।
नदीको वहावमा आधारित (आरओआर) आयोजना बनाउन २४ अर्ब २३ करोड रुपैयाँ लाग्ने अनुमान छ।
कूल अनुमानित लागत आधार मान्दा आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ९२ लाख रुपैयाँ लाग्ने देखिएको छ। आयोजनाबाट वार्षिक ७१ करोड १४ लाख ३० हजार युनिट विद्युतीय ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ।
बर्खामा ६१ करोड ९७ लाख ४० हजार र सुक्खामा ९ करोड १६ लाख ९२ हजार युनिट ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ। आयोजनाबाट उत्पादन हुने बिजुली खरिदका लागि नेपाल विद्युत प्राधिकरणले प्रक्रिया अघि बढाएको छ।
प्राधिकरणले विकासकर्ता स्पार्कसँग बर्खाको ६ महिनामा प्रतियुनिट ४.८० र सुक्खायाममा ८.४० रुपैयाँमा विद्युत खरिद सम्झौता (पिपिए) गर्ने छ। कम्पनीले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यवृद्धि पाउने भएको छ।
प्राधिकरणले आोजनासँग पिपिए गर्न स्वीकृतिका लागि विद्युत नियमन आयोगमा प्रस्ताव पेस गरेको छ। प्राधिकरणको प्रस्तावअनुसार आयोगले भदौ २९ गते पिपिएका लागि सार्वजनिक सुनुवाइ गर्न लागेको हो।
विद्युत प्राधिकरणसँग पिपिए भएपछि कम्पनीलाई आयोजना बनाउन वित्तीय व्यवस्थापनको बाटो खुलेको छ। विद्युत प्राधिकरणसँग पिपिए भएपछि मात्र आयोजनामा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्कलाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिइसकेको छ।
मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर बनाइने उक्त आयोजनाको काम सुरु भएको पाँच वर्षभित्र बिजुली उत्पादन गर्ने लक्ष्य छ। नाै किलोमिटर लामो सुरुङ मार्गमार्फत विद्युत उत्पादन गरिने जनाइएको छ ।
आयोजनाबाट फुङ्लिङ नगरपालिका वडा नम्बर १, २, ३ र ९, मिक्वाखोला गाउँपालिका वडा नम्बर १, २ र ३, मेरिङ्देन वडा नम्बर ३ तथा आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर २, ३ र ५ प्रभावित हुनेछ।
स्पार्कले यसअघि नै प्रभावित क्षेत्रमा सार्वजनिक सुनवाइ तथा वातावरणीय प्रभाव मूल्यांकनलगायत सबै कार्य सम्पन्न गरिसकेको जनाएको छ। स्पार्कका अध्यक्ष भानेन्द्रकुमार लिम्बु हुन्। यस्तै प्रबन्ध सञ्चालकमा सुदीपकुमार चौधरी छन्।