काठमाडौं। मेडिकल सिटीका रूपमा विकास भइरहेको भरतपुरमा नेसनल सिटी अस्पताल लिमिटेडले लगानी थप गरेर स्तरोन्नति गरेको छ।
अस्पतालले १ अर्ब ५० करोड रुपैयाँ लगानी गरेर स्तराेन्नति गरेकाे हाे। मेडिकल एन्ड टेक्निकल कलेजसहित २ सयजनाले अस्पतालमा लगानी गरेका छन्।
अस्पताल सञ्चालक समिति अध्यक्ष प्रचण्डलाल प्रधानका अनुसार हालै निर्माण गरिएको ६ तले अत्याधुनिक भवनबाट सेवा सुरु गरिएको छ।
८२ हजार वर्गफिट क्षेत्रफलको उक्त भवन अस्पतालको मापदण्डअनुसार निर्माण गरिएको हो। भवनमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था छ।
भवनका लागि मात्रै अस्पतालले ६० करोड रुपैयाँ लगानी गरेको उनले जानकार दिए। भरतपुर चौबिसकोठीमा १२ कठ्ठा जमिन खरिद गरेर पूर्णव्यावसायिक ढंबाट अस्पताल सञ्चालनमा ल्याइएको प्रधानले जानकारी दिए।
अस्पतालका प्रमुख प्रशासक विक्रम अधिकारीका अनुसार अस्पतालमा १ सय शैया छन्। भविष्यमा थप ५० शैया बढाउने योजना रहेको उनले बताए।
हाल २२ क्याबिन, चार मोडुलर शल्यक्रिया कक्ष, एक सय ६० स्लाइसको सिटिस्क्यान, ६ शैयाको बाल सघन उपचार कक्ष, १० शैयाको सघन उपचार कक्ष र १० शैयाको पोस्टअप सञ्चालनमा छन्।
दिनको समयमा पूर्णकालीन विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् भने बिहान र बेलुकाको समयमा सरकारी अस्पतालका विशेषज्ञ चिकित्सकले सेवा दिएको अधिकारीले जानकारी दिए।
अस्पतालले अतिविशिष्ट सेवा दिइरहेको उनको भनाइ छ। केही दिनमै पाँच शैयाको डायलासिस सेवासमेत दिने तयारी छ।
नेसनलको चुक्ता पुँजी ८५ करोड रुपैयाँ छ। २०६५ असोज १५ मा नारायणगढमा स्थापना भएको उक्त अस्पताललाई २०७२ साउनदेखि भरतपुर सारिएको थियो।