एजेन्सी। रक्षातर्फ विश्वमै सबैभन्दा बढी खर्च गर्ने देशमा अमेरिका दरिएको छ। विश्वको कूल रक्षा बजेटमा अमेरिकाको हिस्सा ३९ प्रतिशत छ।
अमेरिकाको रक्षा बजेट ८ खर्ब ७६ अर्ब ९० करोड डलर पुगेको छ। यस्तै दोस्रोमा चीन छ। चीनको रक्षा बजेट २ खर्ब ९२ अर्ब डलर छ। विश्वको कूल रक्षा बजेटमा चीनको हिस्सा १३ प्रतिशत छ। चीन अमेरिकापछि संसारकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो।
यस्तै युक्रेनमा आक्रमण गर्ने रुसको रक्षा बजेट विश्वको ३.९ प्रतिशत छ। रुसको रक्षा बजेटको आकार ८६ अर्ब ४० करोड डलरबराबर छ।
यस्तै भारतको रक्षा बजेट ८१ अर्ब ४० करोड डलर पुगेको छ। भारतले बिस्तारै रक्षामा बजेट बढाउँदै लगेको छ।
यस्तै खाडी राष्ट्र साउदी अरबको ७५ अर्ब, बेलायत ६८ अर्ब ५० करोड, जर्मनी ५५ अर्ब ८० करोड, फ्रान्स ५३ अर्ब ६० करोड, दक्षिण कोरिया ४६ अर्ब ४० करोड र जापानको ४६ अर्ब डलर छ।
विश्वको कूल रक्षा बजेटमा भारतको हिस्सा ३.६ प्रतिशत, साउदी ३.३, बेलायत ३.१, जर्मनी २.५, फ्रान्स २.४ तथा दक्षिण कोरिया र जापानको २.१ प्रतिशत छ।
स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले जारी गरेको तथ्यांकअनुसार विश्वमा रक्षा बजेटको आकार बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। विश्वको कूल रक्षा बजेट २२ खर्ब (२.२ ट्रिलियन) डलर पुगेको छ।
दोस्रो विश्वयुद्धको अन्तिम वर्ष अमेरिकाले आफ्नो कूल गार्हस्थ उत्पादन (जिडिपी) को ३८ प्रतिशत बजेट सेनामा खर्च गरेको थियो। जबकि, युक्रेनमा युद्धले यस क्षेत्रका देशलाई आफ्नो बजेटको पुनः मूल्यांकन गर्न बाध्य बनाएको छ।
रक्षा बजेट सबैभन्दा धेरै बढाउनेमा युद्धग्रस्त देश युक्रेन भएको छ। रुसले आक्रमण गरेपछि युक्रेनको रक्षा बजेट ६ सय ४० प्रतिशत बढेको छ। यस्तै कतारको २७, साउदी अरब १६, बेल्जियम १३, नेदरल्यान्ड १२, स्वीडेन १२ र पोल्यान्डको ११ प्रतिशत छ।
यसैगरी रुसको ९.२, डेनमार्क ८.८ र स्पेनको ७.३ प्रतिशत बजेट बढेको स्टकहोम इन्टरनेसनलले जनाएको छ। युक्रेनको रक्षा खर्च नाटकीय पारामा वृद्धि भएको छ।
यद्यपि, अन्य कुनै पनि देशले युक्रेनको रक्षा खर्चमा भएको वृद्धिसँग मिल्दोजुल्दो नभए पनि कतारले गत वर्षको दाँजोमा २७ प्रतिशत बढाएको छ। जुन पछिल्लो दशकमा आफ्नो सेनालाई उल्लेखनीयरूपमा बलियो बनाउने कतारको निरन्तर प्रयास छ।
यस क्षेत्रमा चलिरहेको द्वन्द्व र ठूला वित्तीय ‘पावर हाउस’ का साथ यो कुनै आश्चर्यको कुरा होइन। सैन्य खर्चमा सबैभन्दा महत्वपूर्ण वृद्धि भएका शीर्ष १० देशमध्ये युरोपका आठ देश छन्।
बढ्दो भूराजनीतिक चिन्ताबीच भारत, जापान र चीनजस्ता एसियाली देशले पनि आफ्नो रक्षा खर्च बढाएका छन्। यो भारत र चीनको सीमा झडप लामो समयदेखि चलिरहेको छ। चीनले क्षेत्रीय द्वन्द्व र ताइवानको सार्वभौमसत्ता वरपरका चिन्ताले विश्वव्यापीरूपमा रक्षा बजेट बढाएको छ।