काठमाडौं। नेपालमा सूचना तथा सञ्चार प्रविधि विकास र विस्तारमा तीन दशकदेखि काम गरिरहेको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) ले प्राविधिक शिक्षातर्फ चार वर्षदेखि प्रदान गर्दै आइरहेको छात्रवृत्ति ‘नेसनल आइसिटी स्कलरसिप २०८०’ का लागि आवेदन खुला गरेको छ।
क्यान महासंघले मुलुकभित्र सूचना प्रविधि अध्ययन–अध्यापन गर्ने गराउने कलेजहरूको सहयोगमा गरिब र जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ। यो छात्रवृत्ति लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा सुरु गरिएको हो। यो छात्रवृत्तिमार्फत यस वर्ष ४९ विद्यार्थीलाई आंशिक तथा पूर्णछात्रवत्ति प्रदान गर्न लागिएको क्यानले जनाएको छ।
नेसनल आईसीटी स्कलरसिप २०८० मा सातवटै प्रदेशका विद्यार्थीले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट एक छात्रालाई पूर्ण र बाँकी ४२ लाई आंशिक छात्रवृत्ति प्रदान गरिने छ।
चार वर्षदेखि सञ्चालित यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत हालसम्म १ सय १० विद्यार्थी अध्ययनरत छन्।
यो वर्ष पनि फिमेल मेरिट आइसिटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चारका दरले २८ छात्रालाई छात्रवृत्ति प्रदान गरिने छ भने आइसिटी मेरिट स्कलरसिपअन्तर्गत प्रत्येक प्रदेशबाट तीनका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिने क्यानका महासचिव चिरञ्जीवि अधिकारीले जानकारी दिए।
क्यान महासंघ र लर्ड बुद्ध एजुकेसनबीच भएको सम्झौताअनुसार ४९ विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँबराबर छात्रवृत्ति पाउनेछन्। छात्रवृत्ति प्राप्त विद्यार्थीले मलेसियाको एसिया प्यासिफिक युनिर्भसिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनको सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तहअन्तर्गत बिएससी आइटी अध्ययन गर्न पाउनेछन्।
नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सोसरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्।
छात्रवृत्ति प्रदान गर्न क्यान महासंघ केन्द्रीय स्तरमा निवर्तमान अध्यक्ष नवराज कुँवरको संयोजकत्वमा शेखर दुलाल, ठाकुरकुमार श्रेष्ठ, भूपालदास श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ तथा केन्द्रीय सदस्य राजु कट्टेल र सरिता न्यौपाने रहेको छात्रवृत्ति छनौट समिति गठन गरेको छ।