कृष्णनगर। कपिलवस्तुको शिवराज नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले ८ लाख ५० हजार रुपैयाँ रकम अनुगमन भत्ता बुझेका छन्।
नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा मात्र अनुगमन भत्ताबापत उक्त रकम बुझेको पाइएको छ।
गत साउन १ गते सूचनाको हक प्रयोग गरी नगरपालिकाबाट सूचना माग गरिएको थियो। नगरपालिकाले उक्त सूचना ३८ दिनपछि मात्र उपलब्ध गराएको थियो।
नगरपालिकाले दिएको सूचनामा ३६ कर्मचारी र प्रतिनिधिले उक्त रकम भत्ताबापत बुझेको पाइएको हो।
नगरपालिकाले उपलब्ध गराएको सूचनामा सबैभन्दा बढी रकम उपप्रमुख शिवकुमारी चौधरीले ६३ हजार ७ सय ५० रुपैयाँ बुझेको पाइएको हो।
नगरप्रमुख अजय थापाले ५१ हजार, प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले ५१ हजार, इन्जिनियर रामजी थापा नेपालीले ५१ हजार, लेखा अधिकृत रामचन्द्र मरासिनी ५१ हजार र खरिदार प्रेम वलीले ५१ हजार रुपैयाँ अनुगमन भत्ता बुझेको जनाइएको छ।
यस्तै इन्जिनियर मोहन केसीले ४१ हजार ६ सय ५०, लेखापाल रीता खनालले ४१ हजार ६ सय ५०, ओभरसेयर सरोज भुसालले २८ हजार ५०, शिव पराजुलीले २८ हजार ५०, ओभरसेयर वसन्त पन्थीले २६ हजार ३ सय ५० र ओभरसेयर ताराप्रसाद भण्डारीले २४ हजार ६ सय ५० रुपैयाँ बुझेको नगरपालिकाले जानकारी दिएको छ।
यसैगरी ओभरसेयर अजय कुर्मीले २४ हजार ६ सय ५०, गुरुप्रसाद चौधरीले २२ हजार ९ सय ५० र अमिन रोशन नेपालीले २१ हजार २ सय ५० रुपैयाँ बुझाएका छन्।
वडाध्यक्ष खिमविक्रम केसी, रामबहादुर चौधरी, टेकलाल सापकोटा, नेत्रप्रसाद बेल्वासे र रामगोपाल चौधरीले १५ हजार ३ सय रुपैयाँका दरले अनुगमन भत्ता बुझेका जनाइएको छ।
वडाध्यक्ष नसिम अहमद खाँ र माहेताब आलम खाँले १२ हजार ७ सय ५० रुपैयाँका दरले भत्ता बुझेका हुन्।
वडाध्यक्ष रिजवान अहमद खाँले १४ हजार ४ सय ५०, अनुपकुमारी चौधरी र मञ्जु मिश्रले ८ हजार ५ सय रुपैयाँका दरले भत्ता बुझेको नगरपालिाले जनाएको छ।
वडाध्यक्ष रामेश्वरप्रसाद बर्माले २१ हजार २ सय ५० रुपैयाँ अनुगमन भत्ता बुझेका हुन्।
यस्तै सूचना अधिकारी डिल्लीराज भट्टराई ३८ हजार २ सय ५० र अधिकृत लक्ष्मी कँडेलले ८ हजार ५ सय रुपैयाँ अनुगमन भत्ता बुझेको जनाइएको छ।