जनपुरधाम। हिन्दू धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थलका रूपमा रहेको धनुषा जनकपुरधाम पछिल्लो समय ‘होटल हब’ का रूपमा विकास हुँदैछ।
धार्मिक पर्यटक लक्षित गरी धर्मशालाबाट होटलमा प्रवेश गरेको जनकपुरमा पछिल्लो समय ठूलो लगानीका व्यावसायिक होटल पनि खुल्न थालेका छन्।
यहाँ सानो तथा ठूलो लगानीका करिब दुई सय होटल सञ्चालनमा छन्। ती सबै होटलमा हालसम्म करिब १० अर्ब रूपैयाँ लगानी भइसकेको र करिब ५ हजारलाई प्रत्यक्ष रोजागारी दिइएको व्यवसायीको दाबी छ।
घरेलु तथा साना उद्योग कार्यालय धनुषाको १० वर्षको तथ्यांक हेर्दा पनि यहाँ होटल सङ्ख्यामा ठूलो लगानी भइरहेको देखिन्छ।
जनकपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ जनकपुरको विवरणले पनि यहाँ वर्षेनी होटलहरू थपिने क्रम जारी रहेको देखाउँछ।
तर, आर्थिक क्रियाकलाप र बजार दायरा नबढेकाले व्यवसायी भने उत्साहित छैनन्। जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ आर्थिक तथा धार्मिक पर्यटकीय गतिविधि बढ्ने आशैआशमा होटलमा लगानी बढिरहे पनि पछिल्लो समय धेरै व्यवसायी निराश रहेको बताउँछ।
संघका वरिष्ठ उपाध्यक्ष मनिषरमण साह भने राज्यले अत्यावश्यक पूर्वाधार निर्माण र अनुकूल वातावरण बनाइदिने हो भने जनकपुरको होटल व्यवसायले नेपालकै अर्थतन्त्र विकासमा गुणात्मक योगदान गर्नसक्नेमा आशावादी देखिन्छन्।
होटल व्यवसायी संघका अध्यक्ष सुरेन्द्र भण्डारी पनि जनकपुरका होटलहरूले लगानीअनुसार प्रतिफल पाउन नसकेको गुनासो गर्छन्।
धर्मशालाबाट उठेको व्यवसाय
जनकपुर हिन्दू धर्मावलम्बीको आस्था केन्द्रका रूपमा परिचित छ। मिथिलाञ्चलका चक्रवर्ती राजा जनकपुत्री सीता र रामको वैवाहिक सम्बन्धसँग जोडिएकाले पनि विश्वका करोडौं हिन्दू धर्मावलम्बीले यसलाई पवित्र तीर्थस्थलका रूपमा लिँदै आएका छन्।
त्यसैकारण भारत र नेपालका विभिन्न भूभागबाट जनकपुर दर्शनमा आउनेक्रम परापूर्वकालदेखि नै चलिरहेको छ।
होटल व्यवसायी विजय झुनझुनवाला तिनै तीर्थालुलाई लक्षित गरी जनकपुरधाममा होटल व्यवसायको विकास भएको बताउँछन्।
उनी भन्छन्, ‘जनकपुरधामको मूल चिनारी नै धार्मिक तीर्थस्थल हो। यो भूमि विश्वका अर्बौं मानिसहरूको आस्थाको केन्द्र हो। तिनै तीर्थाटनमा आउने श्रद्धालुलाई लक्षित गरी यहाँ होटल व्यवसायको विकास भएको इतिहास छ।’
उनका अनुसार जनकपुरमा धर्मशालाबाट होटलको विकास सुरु भएको र त्यसको श्रेय गोपाल धर्मशालालाई जान्छ।
भारतबाट जानकी मन्दिर दर्शन गर्न आउने श्रद्धालु भक्तजनलाई लक्षित गरी २००९÷१० सालतिर गोपाल धर्मशालाले न्यूनतम शुल्क लिएर आवास तथा खानाको व्यवस्था गरेबाट यस क्षेत्रको विकास सुरु भएको झुनझुनवालाको भनाइ छ।
‘जनकपुरमा धर्मशालाबाट होटलको इतिहास सुरु भएको हो। भारतको कोलकात्ताबाट आएका मारवाडी पोदार परिवारले धार्मिक पर्यटकको सुविधाका लागि खाने, बस्ने व्यवस्था गरेको र पछि अरु धर्मशालासमेत स्थापना गरिएको पाइन्छ। यो नै जनकपुरमा होटलको जग हो,’ उनले सुनाए।
मेचीदेखि काठमाडौंसम्म सडक, पूर्वपश्चिम महेन्द्र राजमार्ग निर्माण र २०२४ सालदेखि हवाई सेवा सुरुभएपछि मात्रै यहाँ व्यावसायिक होटलको स्थापना भएको हो।
जनकपुरमा २०२४ सालतिर पहिलो होटलका रुपमा ‘होटल एभरेस्ट’ स्थापना भएको इतिहास छ।
अहिले जनकपुरधाममा ६० भन्दा बढी ठूला होटलहरु सञ्चालनमा छन्। तीमध्ये केही होटल ‘तीनतारे’ स्तरका छन्। यहाँ होटलको कूल क्षमता करिब १ हजार मानिसलाई बसाउन सक्ने छ।
होटल सञ्चालकसमेत रहेका झुनझुनवाला अर्थतन्त्रमा सुधार, आर्थिक क्रियाकलापमा वृद्धि हुँदै गएमा आगामी पाँच वर्षमा ठूलो लगानीका धेरै होटल खुल्ने बताउँछन्।
होटल व्यवसायी जीवनाथ चौधरी पनि जनकपुरका होटलहरू आधारभूत रूपमा धार्मिक पर्यटक लक्षित भए पनि समयक्रममा व्यावसायिक हिसावले पनि सञ्चालन भइरहेको बताउँछन्।
‘हाम्रो मूल आधार धार्मिक पर्यटन नै हो तर पछिल्लो समय प्रदेश राजधानी पनि बनेपछि लगानी, सेवा र कार्यशैली नै फेर्नुपर्ने अवस्था छ,’ चौधरीले भने।
अर्का होटल व्यवसायी सन्तोष गिरी धार्मिक कार्यका लागि आउने पर्यटक लक्षित गरी व्यवसाय स्थापना भए पनि दिगो व्यवस्थान, लगानी र बदलिँदो सामाजिक मनोवृत्तिअनुरूप रुपान्तरण जरुरी रहेको धारणा राख्छन्।
कुनै पनि होटल तथा व्यवसाय धार्मिक मान्छेहरुको क्रियाकलापले मात्रै चल्न नसक्ने भन्दै गिरीले अहिलेकै अवस्था रहे जनकपुरमा होटलको भविष्य चुनौतीपूर्ण रहेको बताए।
‘उत्साहित छैनन् व्यापारी’
जनकपुरलाई मधेश प्रदेशको राजधानी बनाइएपछि पछिल्लो समय सम्भावनाको क्षेत्र थप विस्तार भएको छ।
त्यसैगरी सडक, हवाई र रेल सेवाले जोड्ने नेपालको एकमात्र सहर भएकाले यहाँ आवागमन बढ्ने क्रममा छ। तर, आर्थिक गतिविधि बढ्न नसकेकामा भने व्यापारी निरास छन्।
‘जनकपुर भ्रमणमा आउने भारतीय तथा अन्य मुलुकका पर्यटक, स्वदेशी नागरिक, सरकारी तथा गैरसरकारी संघ संस्थाका क्रियाकलाप, सभा, सम्मेलन भएमा होटलको व्यवसाय बढ्ने हो,’ गिरी भन्छन्, ‘तर, देशको अर्थतन्त्रका समग्र सूचक, जनताको खर्च गर्ने क्षमता र प्रवृत्ति नबदलिएसम्म यस क्षेत्रको भविष्य पनि आशालाग्दो हुने कुरा भएन।’
व्यवसायी झुनझुनवाला र चौधरी पनि सरकारी तवरबाट पर्यटन पूर्वाधार, पर्यटक आवागमनका लागि ठूला अभियान, मधेशको धार्मिक पर्यटनको विकास, विस्तार र प्रचारका लागि काम नभएमा अवस्था आशाजनक नरहेकामा सहमत छन्।
होटल व्यवसायी संघका अध्यक्ष भण्डारी त सङ्ख्यात्मक रूपमा धेरै होटल देखिए पनि धेरैजसो व्यवसायी पलायन हुने अवस्थामा रहेको बताउँछन्।
‘झट्ट हेर्दा होटलहरू खुलेकै छन् तर वास्तविकता भने कारुणिक छ। केही होटलको व्यापार ठीकठीकै रहे पनि अधिकांशले लगानी उठाउन र कर्मचारी पाल्न नसक्ने अवस्था छ,’ भण्डारीले भने, ‘सरकारबाट सहुलियत नहुने र आर्थिक गतिविधि नबढ्ने हो भने निकट भविष्यमा धेरै होटल बन्द हुन्छन्।’
महासंघका अध्यक्ष महासेठले पनि अरु व्यवसायको तुलनामा होटल क्षेत्र अहिले पनि चलायमान नै भएकाले धेरै निराश हुनुपर्ने अवस्था नरहेको तर आर्थिक क्रियाकलाप नबढेमा होटलको संख्या मात्रै बढेर नहुने बताए।
‘जनकपुर धार्मिक सहर र प्रदेशको राजधानी हो तर यहाँ न उद्योग, कलकारखाना छन् न त नजिकै तेस्रो मुलुकसँग जोड्ने ठूलो नाका छ। यसर्थमा सबै सरोकारवालाले योजनाबद्ध रूपमा केही रणनीतिक महत्वका काम नगर्ने हो भने सोचेअनुरूप परिणाम हासिल गर्न कठिन छ,’ महासेठले भने।
महासंघका वरिष्ठ उपाध्यक्ष साह भने धार्मिक आस्थाको केन्द्र अयोध्यामा राम मन्दिर निर्माण भएपछि त्यसको प्रभाव जनकपुरमा पनि पर्ने र त्यसपछि केही सुधार हुने सम्भावना रहेकोमा विश्वस्त छन्।
तर, त्यसबाट लाभ लिन सरकारले अहिलेदेखि नै रणनीतिक तयारी गर्न जरुरी रहेको उनको भनाइ छ।
हिन्दू धर्मको कुरा गर्दा जसरी राम र सीतालाई अलग गर्न सकिँदैन, त्यसैले ‘नेपालविना राम पनि अधुरा’ र ‘सीता माताविना अयोध्या अधुरो’ भन्ने भाष्य स्थापित गर्न अहिलेदेखि नै लाग्न सकेमात्र जनकपुरमा आर्थिक मन्दीको स्थितिमा सुधार हुने देख्छन् मधेश प्रदेशसभा सदस्य रामसरोज यादव।
अहिलेको अवस्थामा जनकपुर भ्रमणमा आउने पर्यटक एकदिन पनि बस्ने अवस्था नरहेकाले कम्तिमा दुई वा दुईभन्दा बढी दिन यही बस्ने अवस्था बनाउन पर्यटकीय गन्तव्य छनोट गरी पर्यटन ‘टुर प्याकेज’ बनाउन अपरिहार्य रहेको उनको भनाइ छ।
‘अहिले बिहान आएर बेलुका फर्किनुपर्ने बाध्यता छ। किनकी जानकी मन्दिर र जनकपुर मात्रै हेर्न त दुई घन्टाभन्दा बढी समय लाग्दैन,’ यादवले भने, ‘पर्यटकलाई यहाँका अरु ठाउँमा पनि घुमाएर ‘इगेज’ गराउने र खर्च गर्ने ठाउँ एवं क्षेत्र विस्तार गर्न सकेमात्रै हामीले लाभ लिन सक्छौं। त्यसतर्फ प्रदेश र स्थानीय सरकारले अझ बढी ध्यान दिनुपर्छ।’
प्रदेशसभा सदस्य रामअशिष यादवले मिथिलाञ्चलको मौलिक सभ्यातासँग आगन्तुकहरुलाई साक्षात्कार गराउने नयाँ रणनीति अख्तियार गर्नसकेमा होटलमात्रै होइन यहाँको समग्र क्रियाकलाप नै समस्यामा पर्ने बताए।
उनी भन्छन्, ‘छिमेकी भारत र अरु मुलुकबाट आउने पर्यटकलाई यहाँका ऐतिहासिक सभ्यता, संस्कार, मौलिक रहनसहन, लोकजीवन, खानपिनको अध्ययन र अवलोकन गर्न मिल्ने गरी हामीले एउटा प्याकेज बनाउन सक्नुपर्छ। त्यसले उहाँहरूलाई केही दिन बस्न अभिप्रेरित गर्ला र यहाँको आर्थिक क्रियाकलापमा योगदान पुग्ला।’
आर्थिक क्रियाकलाप बढ्न नसकेका पनि सरकारको नीतिका कारण चर्को कर र ब्याज लिने तर पर्यटकको सहुलियतका लागि भन्सारमा पर्यटनमैत्री संरचना, पर्यटन सूचना केन्द्र, अध्यागमन कार्यालय, पर्यटन गन्तव्यको पहिचान, पूर्वाधार निर्माण तथा प्रचारप्रसारलगायतका काम गर्न नसकेकाले जनकपुरधाममा होटलको सङ्ख्या बढे पनि भविष्य संकटग्रस्त रहेको जानकारहरू बताउँछन्।