क्यानाडा। ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी (जिइएफ) को सातौं विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्ष निर्वाचित भएका छन्।
शुक्रबार जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका हुन्।
यसअघि मन्त्री महतले विश्व वातावरण कोषको बैठकमा सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायका लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताएका थिए।
उनले दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसंख्याका लागि पानीको श्रोत रहेको विषय विश्व समुदायमा ध्यानाकर्षण गराएका थिए।
नेपालले जैविक विविधता संरक्षणमा इमान्दार प्रयत्न गरिरहेको साथै दुर्लभ तथा संकटापन्न जंगली जनावर तथा प्रजातीहरुको संरक्षण गरेको र त्यसकोको नतिजास्वरूप बाघ तथा गैडाको संख्यामा उल्लेख्य वृद्धि भएको बताए।
यस्ता वन सम्पदा नेपालका लागिमात्र नभइ विश्व मानव समुदायकै सम्पदा भएको उल्लेख गर्दै यी प्रयास हुँदाहुँदै नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले उच्च जोखिममा पर्छ। उनले नेपाल विश्वको १०औं जोखिमयुक्त मुलुक भएको र पछिल्ला दिनमा बाढीपहिरो, अतिवृष्टि, सुख्खाका साथै हिमताल बिस्फोट जोखिमसमेत बढेको बताएका थिए।
नेपालको तापक्रम सन २०३० सम्ममा ०.५ देखि २.० डिग्रि सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर र प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा ५० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी आवश्यक रहेको भन्दै मन्त्री महतले सहभागीहरूको ध्यानाकर्षण गराएका थिए।
अर्थमन्त्री महतले जलवायु वित्तबाट सञ्चालित कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै यसै बैठकबाट अनुमोदित विश्व जैविक विविधता खाका कोषलगायतका श्रोत अति प्रभावित मुलुकमा केन्द्रित गर्न अनुरोध गरेका थिए।