काठमाडौं। लगानी बोर्डले चार जलविद्युत आयाेजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकत गरेको छ।
शुक्रबार प्रधानमन्त्री एवं लगानी बोर्ड अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता बसेको ५५औं बोर्ड बैठकले रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत परियोजनाका लागि कूल ३६ अर्ब ३७ करोड रुपैयाँबराबर लगानी स्वीकृत गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ।
लगानी बोर्डको कार्यालयमा बसेको उक्त बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रम समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ।
त्यस्तै, दाङ जिल्लाको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजना अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ।
बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता रिजन इनर्जी को लिमिटेडबाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीमा लिएको छ।
बोर्डले माथिल्लो कर्णाली जलविद्युत परियोजना सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्ने निर्णय पनि गरेको छ ।
बोर्ड बैठकले नेपालमा रासायनिक मल कारखाना (ग्रिन क्याल्सियम अमोनिय नाइट्रेड) स्थापना सम्बन्धमा अध्ययनका लागि मलेसियाको रिनिकोलासडेन बिएडीसँग गरिने समझदारीको मस्यौदा पनि स्वीकृत गरेको छ।