काठमाडौं। जीवन र निर्जीवन बिमा गर्ने गरी ६ वटा लघु बिमा कम्पनीले कारोबार सुरु गरिसकेका छन्।
नेपाल बिमा प्राधिकरणले जीवनतर्फ तीन र निर्जीवनतर्फ तीन कम्पनीलाई अनुमति दिएपछि कारोबार सुरु गरेका हुन्।
प्राधिकरणले लघु बिमा भनेर जीवनतर्फ ५ लाख र निर्जीवनतर्फ ५० लाखसम्मको सीमा तोकेको छ। तर, प्राधिकरणले यसअघि नै ठूला कम्पनीलाई पनि लघु बिमा गर्न अनिवार्य गरेको छ। कूल बिमा व्यवसायको १० प्रतिशत लघु बिमा गरेको हुनैपर्ने व्यवस्था छ।
लघु बिमा कम्पनी आइसकेपछि धेरैमा चासो बढेको छ, ठूला कम्पनीले गरिरहेको लघु बिमा के हुन्छ? र, ठूला कम्पनीले गर्ने १० प्रतिशत लघु बिमाको हिस्सा लघु बिमा कम्पनीमार्फत गर्ने कि सिधै ठूला कम्पनीले नै गर्ने?
प्राधिकणले भने ठूला कम्पनीले गरिरहेको लघु बिमा व्यवसायलाई पूर्ववत अवस्थामै निरन्तरता दिनुपर्ने व्यवस्था गरेको छ।
लघु बिमा कम्पनीले कारोबार सुरु गरे पनि ठूला बिमा कम्पनीले कूल व्यवसायको १० प्रतिशत अनिवार्यरूपमा लघु बिमा गर्नुपर्ने व्यवस्था यथावत रहेको प्राधिकरण बताउँछ।
‘ठूला बिमा कम्पनीले व्यवसायको १० प्रतिशत अनिवार्य लघु बिमा गर्नुपर्ने निर्णय हाल पनि यथावत छ। यसर्थ, ठूला बिमा कम्पनीले अहिले पनि लघु बिमा गर्न पाउँछन्,’ नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले क्यापिटल नेपालसँग भने, ‘तर, ठूला बिमा कम्पनीलाई अनिवार्य १० प्रतिशत लघु बिमा गराउन लगाउँदा कुनै पनि कम्पनीले दुई प्रतिशत पनि गराउन सकेनन्। जसले गर्दा लघु बिमा कम्पनीको अवधारणा अगाडि सार्नुपर्याे।’
उनका अनुसार उक्त निर्णय यथावत रहेकाले बिमा कम्पनीले १० प्रतिशत लघु बिमा आफैंले गर्नुपर्ने छ।
उता, बैंक तथा वित्तीय संस्थातर्फ भने बैंकहरूले लघुवित्तको कारोबार गर्दा लघुवित्त वित्तीय संस्थामार्फत पनि आफ्नो हिस्सा पूरा गर्ने अवसर केन्द्रीय बैंकले दिने गरेको छ।
तर, प्राधिकरणले भने लघु बिमा कम्पनी भर्खरै आएकाले त्यसतर्फ के गर्ने भनेर निर्णय गरिसकेको छैन। उक्त निर्णय नहुँदासम्म ठूला बिमा कम्पनीले पूर्ववत अवस्थामै लघु बिमा गराउनुपर्ने अध्यक्ष सिलवालको भनाइ छ।
तोकिएको १० प्रतिशत अनिवार्य लघु बिमा नगरेकै कारण लघु बिमा कम्पनीलाई कारोबार अनुमति दिएकाले ठूला बिमा कम्पनीले तोकिएको हिस्साबराबर बिमा नगरे के गर्ने भन्ने निर्णय बिमा प्राधिकरणले गरेको छ।
लघु बिमा गर्ने बाटो खुला छाडेको भए पनि तोकिएको बिमा नगरे ठूला बिमा कम्पनीविरुद्ध कठोररूपमा नउत्रिने मनसायमा भने प्राधिकरण देखिएको छ। यसअघि पनि सोही सीमा पूरा नगर्ने कम्पनीवरुद्ध प्राधिकरणले कुनै कदम चालेको थिएन।
मुलुकका गरिब, न्यून आय वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तकृत समुदाय र साना उत्पादनलाई बिमाले समेट्न नसकेपछि सरकारले ठूला बिमा कम्पनीले अनिवार्य लघु बिमा गर्नुपर्ने अवधारणा अघि बढाएको थियो।
बिमा प्राधिकरण (तत्कालीन बिमा समिति) ले २०७१ सालमा लघु बिमा निर्देशिका जारी गरी कम्पनीहरूलाई लघु बिमा ‘पोलिसी’ बिक्री गर्न निर्देशन दिएको थियो। त्यसपछि आर्थिक वर्ष २०७३/७४ मा बिमा कम्पनीहरूलाई कूल व्यवसायको पाँच प्रतिशत लघु बिमा गर्न निर्देशन दिँदै सीमा नै तोकिदिएको थियो।
त्यसपछि पनि बिमा कम्पनीहरू यसतर्फ आकर्षित नभएपछि सरकारले २०७५/७६ को बजेटमार्फत बिमा कम्पनीहरूलाई आफ्नो कूल व्यवसायको १० प्रतिशत अनिवार्य लघुबिमा गर्नुपर्ने व्यवस्था गरेको थियो।
तर, पनि बिमा कम्पनीले कूल व्यवसायको दुई प्रतिशत पनि लघुबिमा गर्न नसकेपछि प्राधिकरणले लघु बिमा कम्पनीको अवधारणा अघि सारेको थियो।
प्राधिकरणबाट गत वर्ष मंसिरमा सात बिमा कम्पनीले लघु बिमा व्यवसाय गर्ने लाइसेन्स पाएका थिए। जसमध्ये ६ बिमा कम्पनीले कारोबार अनुमित नै प्राप्त गरी व्यवसाय सुरु गरिसकेका छन्।
लाइसेन्स प्राप्त गर्ने लघु जीवन बिमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स थिए।
त्यस्तै लघु निर्जीवन बिमा व्यवसाय गर्न लाइसेन्स पाउने कम्पनीमा ट्रस्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रोफाइनान्स इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स थिए। जुन लाइसेन्स अनुमति प्राप्त गरेका मध्ये ६ बिमा कम्पनीले प्राधिकरणबाट कारोबार अनुमति पाएका हुन्।
कारोबार अनुमति पाउनेमा लघु जीवन बिमातर्फ गार्डियन माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी छन्।
त्यस्तै कारोबार अनुमति पाउने निर्जीवन लघु बिमा कम्पनीतर्फ नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो फाइनान्स इन्स्योरेन्स छन्। ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीले भने तोकिएको पुँजी पुर्याउन नसकेका कारण कारोबार अनुमति पाएको छैन।
‘हाम्रो मुलुकको आयस्तर हेर्दा कूल जनसंख्याको ६० प्रतिशत नागरिकलाई सानो आकारको बिमा आवश्यक छ। स्वास्थ्य, कृषि तथा पशुपन्छी र यस्ता किसिमका साना बिमा नेपालका लागि उपयुक्त देखिन्छ,’ अध्यक्ष सिलवालले भने, ‘नेपालका सन्दर्भमा पाँचवटा कुखुरा, १० वटा बाख्रा, एउटा भैंसी यी सबैको बिमा सहज ढंगमा हुन आवश्यक छ।’
उनले लघु बिमा कम्पनीहरू मुख्यरूपमा यसतर्फ केन्द्रित हुन आवश्यक भएको बताए। नेपालको सन्दर्भमा बिमा कम्पनीले गाउँ–गाउँ र घर–घर गएर बिमा पहुँच नागरिकसम्म पुर्याउनुपर्ने देखिन्छ।
तर, ठूला बिमा कम्पनी यसतर्फ उन्मुख हुन नसक्दा नै लघु बिमा कम्पनी ल्याएको सिलवालको भनाइ छ। विकट ठाउँ, सिमान्तकृत र साना–साना व्यवसाय गरेर नागरिकको घरआँगनमा लघु बिमा पुग्नुपर्ने पनि उनले बताए। अहिलेसम्म बिमा भनेको ठूला कम्पनी र ठूला मूल्यका सम्पत्तिको मात्रै भनेर बुझेकाले यो अवस्था परिवर्तन गर्नुपर्ने सिलवालले स्पष्ट पारे।