काठमाडौं। हाल विश्वमा विद्युतीय गाडीले निकै प्राथमिकता पाएको छ। सोहीअनुरूप विद्युतीय गाडी प्रयोग गर्न चाहनेका लागि विकल्प पनि धेरै मात्रामा छन्। आउँदो दिनमा त्यस्तै एक उत्कृष्ट विकल्प बन्न सक्ने कार हो ‘भोल्भो इएक्स३०’।
स्विडेनको कार निर्माता कम्पनी भोल्भोले सन् २०२४ बाट ‘भोल्भो इएक्स ३०’ बजारमा ल्याउँदैछ। ३४ हजार ९ सय ५० डलर (करिब ४६ लाख रुपैयाँ) सुरुवाती मूल्य तोकिएको यो गाडी भोल्भोको सबैभन्दा सानो विद्युतीय गाडी हो। मोटरका सन्दर्भमा भोल्भो इएक्स ३० विभिन्न तीन भेरियन्टमा उपलब्ध हुनेछ, जसमा एक्सटेन्डेड प्लस, एक्सटेन्डेड अल्ट्रा र ट्वीन पर्फमेन्स अल्ट्रा छन्।
सिंगल मोटर भेरियन्टले एकपटकको फुल चार्जमा ४ सय ४२ किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ। कम्पनीका अनुसार यस भेरियन्टको इभीले शुन्यदेखि ९६ किलोमिटर प्रतिसेकेन्डको गति ५.१ सेकेन्ड हासिल गर्छ।
त्यस्तै ट्वीन मोटर भेरियन्टले एकपटकको चार्जमा ४ सय २६ किलोमिटर रेञ्ज दिने बताइएको छ। यसमा पार्किङ गर्न सघाउने पार्क पाइलट असिस्ट, ३६० डिग्री क्यामेराजस्ता फिचर छन्। इएक्स ३० को लम्बाइ ४,२३३ एमएम, चौडाइ १,८३७ एमएम र उचाइ १,५५५ एमएम रहेको छ।
यसमा राखिएको ६४ किलोवाट आवर क्षमताको ब्याट्रीलाई डिसी चार्जरको सहायताले २६.५ मिनेटमा १० देखि ८० प्रतिशत चार्ज गर्न सकिने बताइएको छ। गाडीमा ३१.९ क्युबिक फिट लगेज स्पेस राखिएको छ। कनेक्टिभिटीको कुरा गर्दा भोल्भो इएक्स ३० मा रियल–टाइम कनेक्सनका लागि फाइभजी प्रणाली जडान गरिएको छ।